सभामुख अग्निप्रसाद सापकोटाले नववर्ष २०७९ साल प्रारम्भका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उनले विक्रम संवत् २०७८ मा कैयौँ अप्ठ्यारा आए र तिनलाई हामीले सुझबुझपूर्ण ढङ्गले निकास दिँदै गएको उल्लेख गर्दै भविष्यका लागि आशावादी बनाएर २०७८ बिदा भएको शुभकामना सन्देशमा भनेका छन्, विसं २०७९ चुनावी वर्ष रहेकाले आम नागरिकका लागि आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गर्ने एवं राजनीतिक दलका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको वर्ष बन्ने विश्वास पनि शुभकामना सन्देशमार्फत सभामुख सापकोटाले बताएका छन्।
आगामी दिनमा संविधानको कार्यान्वयन, परिवर्तित व्यवस्थाअनुरुप नागरिकले अनुभूत गर्ने तहमा जीवनस्तर परिवर्तनको दिशामा मुलुकलाई अगाडि बढाउन दलका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुने उनले विश्वास गरेका छन्।
लोकतन्त्रको उच्चतम् अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा दिने विश्वास सभामुख सापकोटाको छ।
प्रकाशित: १ वैशाख २०७९ ०२:२३ बिहीबार