स्थानीय तह निर्वाचनका लागि धादिङमा भएको चारदलीय गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ।
यस जिल्लामा १३ वटा स्थानीय तह छन्। स्थानीय तहको नेतृत्वदेखि वडासम्म भागबण्डा गर्न गठबन्धन दलहरू आन्तरिक गृहकार्यमा व्यस्त छन्। २०७४ सालको स्थानीय निर्वाचनमा प्राप्त मतभारलाई आधार मानेर गठबन्धन घटकले २ नगरपालिकासहित ११ वटै गाउँपालिकामा आआफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।
भागबण्डाको ढाँचा तयार गर्न गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आन्तरिक छलफलमा छन्। आन्तरिक छलफल नटुंगिएकाले सोमबार बस्ने भनिएको गठबन्धनको बैठक बस्न सकेन।
‘गठबन्धनको मर्मलाई ध्यानमा राखेर तालमेलको मोडालिटी तय गर्छौं, मोडालिटी तयार पारेपछि कुन दलले कहाँ नेतृत्व लिने भन्नेबारे निर्णय हुनेछ,’ नेकपा माओवादीका विजय बुर्लाकोटीले भने। २०७४ सालमा प्राप्त मत, संगठन विस्तार र भूगोल पनि हेरेर भागबण्डा मिलाइने उनले बताए। उनी गठबन्धन कार्यदलमा छन्। अहिले सबै दलका नेता आन्तरिक छलफलमा व्यस्त भएकाले बैठक केही समय ढिलो हुन लागेको नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले बताए।
पार्टी केन्द्रीय समिति र विधानको व्यवस्थाविपरीत केन्द्रले निर्णय लिए समस्या आउने कांग्रेसका नेताहरूले बताएका छन्। ‘नेताहरू पार्टीको निर्णयभन्दा बाहिर जान मिल्दैन, केन्द्रबाट सबै निर्णय भयो भने गठबन्धन दललाई पनि चुनाव जित्न समस्या पर्छ’, अधिकारीले भने, ‘स्थानीय आवश्यकता र औचित्यका आधारमा मात्रै तालमेल हुन्छ। केन्द्रले हस्तक्षेप गर्न मिल्दैन ।’ गठबन्धनभित्र व्यापक छलफल गरेर समीकरण मिलाइने अधिकारीले बताए।
अहिले गठबन्धनमा रहेका दलले यसअघि जितेका पालिका र वडा पाउने तथा एमाले र अन्य दलले जितेका पालिका र वडा भागबण्डा गर्ने सैद्धान्तिक समझदारी भएको छ। अघिल्लो निर्वाचनको मतभारको पनि सम्मान हुनेगरी भागबण्डा गर्न छलफल भइरहेको नेकपा एकीकृत समाजवादी धादिङका सचिव सुवास खतिवडाले बताए।
केन्द्रीय गठबन्धनले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्न जिल्ला कार्यसमितिलाई अधिकार दिएको छ। त्यस्तै वडाका उम्मेदवार टुंग्याउने अधिकार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई छ। केन्द्रले नभई तल्ला तहले नै आवश्यकता अनुसार तालममेलको निर्णय गर्न पाउनुपर्ने अधिकांश नेताहरूको जोड छ। तलबाट दिएका सुझावका आधारमा भागबण्डा नगरी केन्द्रबाटै निर्णय लाद्न खोजियो भने नतिजा सोचेजस्तो नआउने नेताहरूले बताएका छन् ।
प्रकाशित: ३० चैत्र २०७८ ०२:२६ बुधबार