राजनीति

नेपालगन्ज एमालेकाे मेयरमा मिश्र र उपमेयरमा ढकालको उम्मेदवार

नेकपा एमालेका तर्फबाट मेयर र उपमेयरका उम्मेदवार।

नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ। एमाले नेपालगन्ज नगर कमिटी बैठकले सर्वसम्मत रुपमा दुबै जनाको नाम सिफारिस गरेको हो।  

एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले मेयरमा मिश्र र उपमेयरमा ढकालको नाम सिफारिस भएर जिल्लामा आएको जानकारी दिए। ‘मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम नगर कमिटीबाट सिफारिस भएर आएको छ, सोही नामलाई अब जिल्लाले लुम्बिनी प्रदेश कमिटी हुदै स्थायी समितिमा पठाइन्छ,’ उनले भने ‘तल्लो तहबाटै सर्वसम्मत रुपमा दुई जनाको मात्रै नाम सिफारिस भएको हुँदा उहाँहरु नै अब एमालेको आधिकारिक उम्मेदवार हुनुहुन्छ।’ नगर कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेर पठाएको नामलाई कसैले पनि थपघट गर्न नपाउने भएकाले दुबै जना एमालेको उम्मेदवार भएको उपाध्यक्ष बिसीले प्रष्ट्याए।

मिश्र हृदयेश त्रिपाठीले नेतृत्व गरेको स्वतन्त्र राजनीतिक समूहमा यसअघि आवद्ध थिए। सोही समुहबाट उनी यसअघि २०७४ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार समेत बनेका थिए।  

स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर चुनाव लडेपनि तत्कालिन संघिय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईसँग पराजित भएका थिए। त्यसपछि स्वतन्त्र राजनीतिक समूह छाडेर केही महिनाअघि मात्र नेकपा एमालेमा प्रवेश गरेका थिए।  

नेपालगन्जका प्रतिष्ठित व्यापारी समेत रहेका मिश्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएसँगै एमालेको केन्द्रीय सदस्य भएका छन्। उनले सुरुमा नेपाली कांग्रेसबाट राजनीतिक गरेपनि पछि राप्रपामा प्रवेश गरेका थिए, त्यसपछि राप्रपा परित्याग गरेर उनी तराई मधेश लोकतान्त्रिक पार्टीमा लागेका थिए।  

यस्तै उपमेयरको उम्मेदवार बनेकी नेतृ ढकाल पनि नेकपा एमालेको केन्द्रीय सदस्य हुन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदमा पराजित भएकी थिइन्। नेपाली कांग्रेसका तर्फबाट उमा थापामगर निर्वाचित हुँदा तत्कालिन राप्रपाकी उम्मेदवार रमारानी बैश्य दोस्रो र नेतृ ढकाल तेस्रो स्थानमा आएकी थिइन्।  

पार्टीभित्र केपी ओली निकट मानिने उनी नेपालगन्ज उपमहानगरपालिकाको पुनः उपमेयरको उम्मेदवार बन्न सफल भएकी हुन्। स्थानीय तहको निर्वाचन आउन ठिक एक महिना बाँकी रहँदा जिल्लामा रहेका राजनीतिक दलले आफ्ना उम्मेवार घोषणा गर्दैछन्।  

नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै टुंगो लगाएका छैनन्। जनता समाजवादी पार्टीले भने पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राईलाई मेयरको उम्मेदवारको रुपमा अगाडी सार्दै आएको छ।

प्रकाशित: २९ चैत्र २०७८ ०८:१६ मंगलबार