राजनीति

लुम्बिनीका चार उपमहानगरमा तालमेल: भागबण्डा गर्नै सकस

गत स्थानीय तहको निर्वाचनमा दाङको घोराही उपमहानरपालिकाको प्रमुखमा एमालेका नरुलाल चौधरीले २२ हजार ३० मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका भुपबहादुर डाँगी १७ हजार ४ सय ८४ मत प्राप्त गर्दै दोस्रो बनेका थिए। माओवादीका जीवन गौतम तेस्रो बनेका थिए। उनले १२ हजार ८२ मत मात्रै प्राप्त गरेका थिए। गत निर्वाचनको जनमतलाई हेर्ने हो भने माओवादी भन्दा कांग्रेस ५ हजार मतलेमाथि छ।  

अघिल्लो स्थानीय तहको निर्जाचनमा तुलसीपुर उपमहानगरपालिकामा एमाले २२ हजार ८ सय ५७ मत ल्याउँदै निर्वाचित हुँदा कांग्रेस १८ हजार ९ सय ३ मतका साथ दोस्रो स्थानमा रह्यो। अनि नेकपा माओवादी केन्द्र कांग्रेस भन्दा १० हजार कम अर्थात ८ हजार ६ सय ९३ मतका साथ तेस्रो स्थानमा रह्यो।  

लुम्बिनी प्रदेशकै बुटवल उपमहानगरपालिका २३ हजार २ सय ४९ मत प्राप्त गर्दै एमाले निर्वाचित हुँदा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस २० हजार ८ सय ५१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रह्यो। यसैगरि राष्ट्रिय जनमुक्ती पार्टी १ हजार १ सय ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रह्यो। यो उपमहानगरमा कांग्रेस र माओवादीका बीचमा मेयर र उपमेयर पदमा चुनावी तालमेल भएको थियो। कांग्रेसले मेयर र माओवादीले उपमेयरको उम्मेदवार तय गरेका थिए।  

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा १२ हजार ५ सय मत १५ प्राप्त गर्दै राप्रपा निर्वाचित हुँदा कांग्रेस ८ हजार ७ सय ३० मतका साथ दोस्रो बनेको थियो भने माओवादी ७ हजार १ सय ९८ मतका साथ तेस्रो बनेको थियो।  

गत स्थानीय तहको निर्वाचनको मतभारलाई आधार मानेर मात्रै चुनावी तालमेल गर्ने सर्त राखेको कांग्रेसले प्राप्त मतभारका आधारमा यी चारै उपमहानगरमा आफ्नो नेतृत्व रहनु पर्ने दाबी गरेको छ। ‘अघिल्लो स्थानीय तहको निर्वाचनमा प्राप्त मतभारलाई आधार मानेर जसको बढि मत छ, उसैलाई नै प्रमुखको उम्मेदवारी दिईनुपर्छ,’ कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले भने ‘यो मापदण्डका आधारमा जानुपर्छ र हाम्रो प्रदेशका चारवटै उपमहानगरपालिकामा कांग्रेसले नेतृत्व पाउनै पर्छ, यसमा अरु कुनै बिकल्प हुन्न।’  

यता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने प्रदेशका चार उपमहानगरहरुको नेतृत्व सहमतीका आधारमा भागबण्डा गरिनु पर्ने बताउँछ। तर कसरी भागवण्डा गर्ने भन्ने बिषय चानचुने नभएको माओवादीका प्रदेश अध्यक्ष चक्रपाणी खनाल बताउँछन्। ‘प्रदेशका चारवटा उपमहानगरपालिका मध्य कुन उपमहानगरमा कसको नेतृत्व रहने भन्ने बिषय टुंगिएको छैन,उपमहानगरको नेतृत्व भागवण्डा गरेर टुंग्याउनु पर्छ,’ उनले भने, ‘तर प्रदेश स्तरमै भागवण्डा गर्न सहज भने छैन।’ 

उपमहानगरमा तालमेल गर्ने बिषय गठबन्धनको केन्द्रले नै टुंग्याउने वातावरण बनेको भन्दै उनले उपमहानगरमा आफूहरुको अहिलेको अवस्था बारे पार्टी केन्द्रलाई जानकारी गराएको बताए। ‘उपमहानगरको तालमेल केन्द्रबाटै टुंग्याउने भन्ने सुनिएको छ,’ उनले भने ‘सहज पनि केन्द्रले नै टुंग्याउँदा हुन्छ जस्तो मलाई लाग्छ।’

तर कांग्रेसले भने केन्द्रले पनि गत स्थानीय तहको मतभारका आधारमा नै निर्णय लिने दाबी गर्छ। ‘केन्द्रले टुंग्याउने परिस्थती बनेपनि अघिल्लो निर्वाचनमा प्राप्त मतलाई आधार मानेरै निर्णय हुन्छ नि,’ कांग्रेस लुम्बिनी सभापति पुनले भने ‘नत्र भागवण्डाका नाममा मतभारलाई आधार नमानेर मनलाग्दी नेतृत्व दिने हो भने त चुनाव हार्ने परिस्थती बन्छ।’

यसअघि बुटवल उपमहानगरपालिकामा मेयर र उपमेयरमा तालमेल गरेका कांग्रेस र माओवादीको अहिलेको शक्ति तुलना गर्दा पनि कांग्रेसको जनमत बलियो छ। यसअघिको तालमेलमा पनि माओवादी कमजोर थियो। ‘माओवादीको शक्ति त्यो बेला सानो थियो,त्यही भएर पनि कांग्रेससंग तालमेल गरेर एमालेलाई हराउने भन्ने थियो,’बुटवलका एक कांग्रेसीले भने, ‘अहिले पनि माओवादीले नेतृत्व दाबी गर्ने अवस्थामा पुगिसकेको छैन।’

यसर्थ यो उपमहानगरमा कांग्रेसले आफूलाई नेतृत्वको बलियो दाबेदारका रुपमा प्रस्तुत गरिरहेको छ। यसैगरि नेपालगञ्ज उपमहानगरपालिका उपमेयर पदको आफ्नो जीतलाई कांग्रेसले नेतृत्वको बलियो आधार बनाएको छ। यो उपमहानगरमा प्रमुखमा राप्रपा निर्वाचित भएको थियो भने उपमेयरमा कांग्रेस निर्वाचित भएको थियो। ‘नेपालगञ्ज उपमहानगर त कांग्रेसले उपमेयर जितेको ठाउँ हो,’ कांग्रेसीहरुको दाबी छ ‘उपमेयर जितेको स्थानमा कांग्रेसले छोड्ने परिस्थती बनाईनु हुन्न।’  

यता दाङका दुई उपमहानगरमा माओवादीसंगको मतान्तर धेरै रहेका कारण पनि कांग्रेसको दाबी बलियो रहँदै आएको छ। तर गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले भने दुई उपमहानगर मध्य एक उपमहानगरमा आफ्नो नेतृत्व रहनु पर्ने दाबी गरिरहेको छ। आफू गठबन्धनको दोस्रो ठूलो दल भएका कारण स्वाभाविकै रुपमा एउटा उपमहानगरमा आफ्नो नेतृत्व हुनुपर्ने निष्कर्षमा माओवादी पुगेको  छ।

‘जिल्लाका दुई उपमहानरपालिका मध्य एउटा उपमहानगरमा हाम्रो नेतृत्व रहनु पर्छ भन्नेमा हाम्रो निर्णय भएको छ,’ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक सुबास पुनले भने, ‘माओवादी गठबन्धनको दोस्रो दल भएकाले पनि एउटा उपमहानगरको नेतृत्वमा हाम्रो दाबी रहनु स्वाभाविक हो।’  

जिल्ला स्तरबाट एउटा उपमहानगरमा आफ्नो दाबी गरिरहेको भएपनि महानगर र उपमहानगरको भागबण्डा केन्द्रले नै मिलाउने भएकाले के हुने भन्नेमा भने अन्यौल नै रहेको उनको भनाई छ। ‘जिल्लाका साथीहरुले एउटा उपमहानगरमा हाम्रो नेतृत्व रहनु पर्छ भन्नु भएको छ,’ पुनले भने, ‘तर महानगर र उपमहनगरको भागवण्डा केन्द्रले नै टुंग्याउने भएकाले अहिले के हुने भन्ने निक्र्यौल त भैसकेको छैन।’

पुनले भने अनुसार माओवादीको केन्द्रीय कमिटिले निर्णय गरेको खण्डमा दाङका दुई उपमहानगर मध्य घोराही उपमहानगरमा आफ्नो दाबी गर्ने देखिन्छ। यो उपमहानगर माओवादी प्रवक्ता कृष्णबहादुर महराको चुनावी क्षेत्र हो। यसर्थ महराले आफ्नो चुनावी क्षेत्रको उपमहानगरमा आफ्नो पार्टीको नेतृत्व दाबी गर्ने सम्भावना अधिक देखिएको छ। स्रोतका अनुसार महराले घोराही उपमहानगरमा आफूहरुको दाबी रहने भन्दै लबिङ समेत गरिरहेका छन्।

यता लुम्बिनी प्र्रदेशका चार उपमहानगरमा गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादीको मात्रै दाबी रहेको देखिएपनि गठबन्धनका अन्य साना दलहरुले पनि उपमहानगरमा आफूहरुको दाबी रहने बताउँछन्। गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले दुई उपमहानगरमा आफ्नो नेतृत्व दाबी गरिरहेको छ। दुई उपमहानगरमा नेतृत्व दाबी गरेको उसले दुई मध्य एउटा आफ्नो भागमा पर्ने बताउँछ। 

बुटवल उपमहानगर र नेपालगञ्ज उपमहानगरमा आफ्नो  दाबी प्रस्तुत गरिरहेको जसपाले नेपालगञ्ज उपमहानगरलाई बढि प्राथमिकतामा राखेको छ। ‘हामीले दुई उपमहानगरमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छौँ, दुई मध्य एउटा उपमहानगरमा हाम्रो नेतृत्व रहनु पर्छ भन्ने हो,’ जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले भने ‘हाम्रो प्राथमिकतामा नेपालगञ्ज हो।’ 

नेपालगञ्जमा जसपा बलियो रहेको भन्दै यादवले गठबन्धन नभएपनि जसपाले एक्लै निर्वाचन जित्ने दाबी गरे। ‘नेपालगञ्जमा हामी एक्लै लडेपनि चुनाव जित्ने अवस्था छ,’ उनले भने ‘हाम्रो बलियो रहेको क्षेत्रमा पनि हामीहरुलाई नेतृत्व नदिए गठबन्धनको के अर्थ रहन्छ र?’ 

यस्तै जसपाले दाङका दुई उपमहानगर मध्य एउटामा उपप्रमुख समेत दाबी गरिरहेको छ। तर गठबन्धनमा आवद्ध दलहरुका बीचमा कुरा नमिलेको भन्दै प्रदेश तहमा गठबन्धन हुने सम्भावना निकै कम रहेको यादवले बताए। ‘गठबन्धन होला जस्तो मलाई लागेको छैन,’ उनले भने ‘प्रमुख भनिएका दलहरुले मात्रै भागवण्डा गर्ने र हामीहरुलाई पछाडी पार्ने परिस्थती बन्ने देखिन्छ, यो अवस्थामा हामी गठबन्धनमा रहन्नौँ।’  

यता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि दुई उपमहानगरमा आफ्नो दाबी गरिरहेको छ। तुलसीपुर उपमहानगर र बुटवल उपमहानगरमा आफ्नो दाबी प्रस्तुत गरिरहेको समाजवादीले दुई मध्य एक उपमहानगरमा आफ्नो नेतृत्व रहनु पर्ने अडान लिईरहेको छ।

‘तुलसीपुर उपमहानगर र बुटवल उपमहानगरपालिकामा हाम्रो  दाबी छ,’ समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले भने ‘यी दुई मध्य एउटामा हाम्रो नेतृत्व रहन्छ।’ उनले भागवण्डाका आधारमा समाजवादीलाई एउटा उपमहानगरको नेतृत्व दिनै पर्ने बताए। ‘हामी कमजोर शक्ति हैनौँ,बुटवल र तुलसीपुरमा हाम्रो शक्ति ठूलो छ,’ उनले भने ‘गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा गर्ने क्रममा हामीहरुको नेतृत्व एउटामा त हुनै पर्यो नि।’ 

प्रकाशित: २७ चैत्र २०७८ ०८:११ आइतबार