राजनीति

आफू प्रधानमन्त्री हुँदा काममा कृतिमानी कायम गरेको ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झोलुङ्गे पुल, बाटोघाटो र तुइन हटाउने काममा कृतिमानी कायम गरेको दाबी गरे।

हिजो एमाले बागलुङको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले बजेट नभएको भन्दै योजना कटौती गर्नबाहेक अरु केही गर्न नसकेको आरोप लगाएका हुन्।

यसैबीच अध्यक्ष ओलीले एमाले पर्वतले कुश्माबजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गरेका छन्। उनले हरेक जिल्ला र बस्तीमा एमालेको पक्षमा माहोल बढेको दाबी गरे। अध्यक्ष ओलीले कुश्मामा रेलको स्टेशन बन्न सक्ने तर्क गर्दै भने, 'यहाँ रेलमार्ग, सुरुङमार्ग पनि क्रमशः बन्दै जान्छन्।'

सो अवसरमा उनले रक्सोल–काठमाडौँ रेल र केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेको बताए। आफ्नो कार्यकालमा तुइन विस्थापन, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत अनेक स्वरोजगार र कृषिको आधुनिकीकरण, सघन सहरी विकास, डिजिटल नेपाललगायत कार्यक्रम सञ्चालन गरेको अध्यक्ष ओलीको दाबी थियो।

उनले नेपाल विकासको मार्गमा अत्यन्तै तीव्रताका साथ अघि बढेको बताउँदै धरहरा, रानीपोखरी, अस्पताल, स्वास्थ्यचौकी, विद्यालय, सिँचाइ, घर–घरमा धारा बनिरहेको उल्लेख गरे।

प्रकाशित: २७ चैत्र २०७८ ०३:१६ आइतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली