राजनीति

माओवादीको जिल्ला व्यापी गठबन्धन लक्षित बैठक सम्पन्न

कटारीमा आयोजित गठबन्धन लक्षित बैठकमा केन्द्रीय सदस्य राईलगायत। तस्बिरः महेश्वर

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को गठबन्धन लक्षित स्थानीय तह स्तरको बैठक सकिएको छ। जिल्लाको बेलका नगरपालिकाबाट सुरु भएको स्थानीय स्तरको बैठक ८ वटै पालिकामा सम्पन्न भएको पार्टीले जनाएको छ।

चार नगर र ४ गाउँपालिका रहेको उदयपुरका सबै स्थानीय तहमा सत्ता गठबन्धनमा रहेका ५ दलबीच आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने पार्टी धारणा छ। सोही धारणालाई स्थानीय स्तरसम्म कार्यकर्तालाई प्रष्ट्याउन पालिकास्तरीय बैठक आयोजना गरिएको पार्टी जिल्ला समन्वय समितिले जनाएको छ।

जसअनुसार केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल)नेतृत्वको टोली ८ वटै स्थानीय तहमा पुगेर गठबन्धन लक्षित विस्तारित बैठक सम्पन्न भएको हो। जिल्ला समन्वय समिति संयोजक विनोद कटुवाल (दिवस)ले वैशाख ३० गते हुने भनिएको चुनावमा गठबन्धन गर्नुपर्छ भन्ने विषयमा सबै पालिकामा पहिलो चरणको छलफल भएको बताए।

सबै गाउँपालिका र नगपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यसम्ममा गठबन्धन बनाएर चुनाव लड्ने विषयमा नेता कार्यकर्ताबीच छलफल गर्न पालिकास्तरीय बैठकको आयोजना गरिएको कटुवालले बताए।

सोही अनुसार गठबन्धन लक्षित कार्यकर्ता भेला तथा प्रशिक्षणात्मक बैठक बेलका नगरपालिकादेखि सुरु गरेर सदरमुकाम त्रियुगा हुँदै लिमचुङब्ङ, ताप्ली गाउँपालिकापछि शुक्रबार कटारी नगरपालिका आएर टुंगिएको उनले बताए।

स्थानीय तहस्तरको सबै बैठकहरुमा केन्द्रीय सदस्य तथा सांसद राई प्रमुख वक्ताको रुपमा उपस्थित थिए। उनले सत्ताधारी दलहरुबीच हाल कायम केन्द्रीय गठबन्धनलाई तल्लोतहसम्म पुर्‍याउन पार्टीका अगुवा नेता कार्यकर्तालाई निर्देशनात्मक आग्रह गरेका छन्।

गठबन्धनलाई स्थानीय तह चुनावदेखि प्रदेश र संघीय निर्वाचनसम्म कायम राखेर जाने दलहरुबीचको निर्णय कार्यान्वयन गराउन आफूहरु नेता कार्यकर्तासँग छलफल गर्न सहभागी भएको राईले बताए। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक व्यवस्थाजस्ता प्राप्त उपलब्धीलाई प्रतिगामी शक्तिबाट खतरा रहेको भन्दै त्यसविरुद्ध गठबन्धन वडा तहसम्म कायम राख्नुपर्ने आवश्यक्ता राईले औँल्याएका छन्।

माओवादीले हिजोसम्म चुला चौकामा सीमित गरिएका महिलाहरु अहिले राज्यसत्ता सञ्चालन गर्ने ठाउँमा पुर्‍याएको राईको भनाइ थियो। गरिब, विपन्न मजदुर किसानलाई अधिकार सम्पन्न गराउन, दलित, पिछडा वर्ग र सीमान्तकृत समुदायको उत्थान र विकास गर्न भएको १० वर्षे जनयुद्धको उपलब्धी रक्षा गर्न बाम–लोकतान्त्रिक गठबन्धन अत्यावश्यक रहेको उनले बताए।

गणतन्त्र र संघीयता जस्ता परिवर्तन ल्याउनमा लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसको पनि अहम् भूमिका भएकाले माओवादीले उलगायत लोकतान्त्रिक शक्तिहरुसँग गठबन्धन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य राईले बताए।

जनयुद्धका क्रममा हजारौंको रगत पसिनासँग साटेर प्राप्त भएको उपलब्धी गुम्न लाग्दा टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै त्यसको रक्षा गर्ने जिम्मा पनि माओवादीकै काँधमा आएकाले गठबन्धन गर्नुपर्ने आवश्यक्ता भएको उनले बताए।

गठबन्धन गर्ने पार्टीको केन्द्रीय निर्देशनलाई पालना गर्न पनि उनले कार्यकर्ताहरु समक्ष आग्रह गरेका थिए। विस्तारित बैठकहरुमा अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य मणि खम्बु (रिवासी), संविधानसभा सदस्यत्रय मोहन खत्री (दिपक) र भेषकुमारी राउत (कोपिला), प्रदेश कमिटी सदस्यहरुलगायत स्थानीय तहका इन्चार्ज र पदाधिकारीहरुले पनि गठबन्धनमा जोड दिएका छन्।

जिल्ला समन्वय समिति सचिव किरण राईले पालिकास्तरीय गठबन्धनलाई तलैसम्म कायम राखेर चुनावमा जाने विषयलाई लक्षित गरी आयोजित स्थानीय तह स्तरीय बैठकहरुमा भूगोलवासी नेता कार्यकर्ताहरुको तर्क बुझ्न खोजिएको बताए।

उनका अनुसार समग्र जिल्लामा ०७४ को दाँजोमा पार्टी संगठन सुधार भएको हुनाले कतिपय ठाउँमा गठबन्धन आवश्यक नभएको तर्क नेता कार्यकर्ताहरुले गरे पनि केन्द्रीय नीति अनुसार गठबन्धन गरेरै जाने पार्टी निष्कर्ष रहेको छ।

०७४ को स्थानीयतह चुनावमा ८ मध्ये चौदण्डीगढी नगरपालिका मेयर, उपमेयरसहित बहुमत कांग्रेस र लिमचुङबु्ङ गाउँपालिका अध्यक्षमा माओवादी बाहेक बाँकी ६ वटै गाउँ नगरपालिका एमालेले कब्जा जमाएको थियो। तर, नेकपा फुटपछि त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकाका मेयर/अध्यक्षसहित बहुमत जनप्रतिनिधि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्।

त्यससँगै कांग्रेसले पनि संगठन सुदृढ गरेको दाबी गर्दै बलियो अवस्था प्रस्तुत गर्दै आएकाले गठबन्धनको विषयमा निकै रस्साकस्सी हुने देखिएको छ। तर, केन्द्रमा सत्तामा सहभागी सबै दलहरु गठबन्धनको पक्षमा रहेकाले सबै स्थानीय तहमा वस्तुपरक र यथार्थताको धरातलमा उभिएर गठबन्धन गर्नुपर्ने बाध्यता भने रहेको उनीहरुको तर्क छ।

प्रकाशित: २६ चैत्र २०७८ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App