राजनीति

प्रमुख पार्टीलाई मत दिनु भनेको देश बर्बाद बनाउनु होः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन्।

शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी स्थानीय तह निर्वाचनमा देशका प्रमुख पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताएका हुन्।

ती पार्टीहरुलाई मत दिनु भनेको देश बिगार्ने काममा आफू पनि सहभागि भएको उनले उल्लेख गरे। प्रमुख पार्टीहरुले पटक-पटक मौका पाउँदा खेरीपनि जनताले सम्झनेगरी केही काम गर्न नसकेको भन्दै उनले ति पार्टीहरुलाई मत दिएर देश बर्बाद पार्ने काममा सहभागि नहुन जनताहरुलाई आग्रह गरे।

अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको शिकार भएको बताए। उनले २०४६ सालपछिको देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गरे।

अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अभाव भएको उल्लेख गर्दै पैसा काला व्यापारीहरु र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरुको घरमा थन्किएको आरोप लगाए। उनले जनतालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कैद गरेर र झुक्याएर शासन गरिएको बताए।

उनले विद्यमान पार्टीहरुलाई मत दिएर यो देश बन्छ भन्नु र साढेको टाङ मुनि बाल्टी थापेर दुधको आशा गर्नु उस्तै भएको टिप्पणी गरे। उनले तिनै तहको निर्वाचनमा प्रमुख पार्टीको बाकस खालि गरिदिन आव्हान समेत गरे।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले निर्वाचन जितेमा १२ कक्षा सम्मको अध्ययनलाई पूर्ण रुपमा निःशुल्क बनाउने र भ्रष्ट्राचारमुक्त नेपाल बनाउने पनि बताए।

प्रकाशित: २५ चैत्र २०७८ १२:४३ शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देन निर्वाचन