राजनीति

फोरम नेपाल, संघीय समाजवादी र खस समावेसीबीच एकीकरण

काठमाडौं–उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरम नेपाल, अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी र युवराज कार्कीले नेतृत्व गरेको खस समावेसी राष्ट्रिय पार्टीबीचको एकीकरणको घोषणा हुँदै छ।

सोमबार राजधानीमा तीन पार्टीबीचको एकीकरण हुने भएको हो।संघीय समाजवादीका अध्यक्ष अशोक राईका अनुसार एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राख्ने सहमति भएको छ भने एकीकृत पार्टीले संघीय समाजवादीको झण्डा प्रयोग गर्ने छ भने फोरम नेपालको चुनाव चिन्ह र खस समावेशी राष्ट्रिय पार्टीको लोगो प्रयोग गर्ने सैद्धान्तिक सहमति भएको छ।तीन दलबीच भएको सहमति अनुसार नयाँ पार्टीको अध्यक्षमा उपेन्द्र यादव, वरिष्ठ नेतामा अशोक राई, सहअध्यक्षमा राजेन्द्र श्रेष्ठ, उपाध्यक्षमा युवराज कार्की, रेणु यादव र लालबाबु राउतको नाम पक्का भएपनि संघीय समाजवादीले भने आफ्नोतर्फबाट उपाध्यक्षको नाम टुंगो लगाएको छैन। स्रोतका अनुसार संघीय समाजवादीले हेमराज राई र रकम चेम्जोङमध्ये एक जना उपाध्यक्ष बन्ने छन्।

यसैगरी महासचिवमा फोरम नेपालले आफ्नोतर्फबाट रामसहाय यादवको नाम तय गरेको छ भने संघीय समाजवादीले भने आफ्नोतर्फबाट नाम तय गरेको छैन। यसैगरी उपमहासचिवमा फोरमका तर्फबाट अभिषेख प्रताप शाह रहेका छन भने संघीय समाजावादीले नाम तय गरेको छैन यसैगरी सचिवमा संघीय समाजवादीकाबाट पर्शुराम बस्नेतको नाम तय भएको छ। अध्यक्षदेखि सचिवसम्म १५ जनाको पदाधिकारी हुने तय भएको छ भने २ सय सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ।

एकीकृत पार्टी सामाजिक लोकतान्त्रिक विधि अनुसार संचालन हुने छ। लोकतान्त्रिक संघीय समाजवाद एकीकृत पार्टीको निर्देशक सिद्धान्त भएको उनको एक नेताले जनाए।स–साना झुण्डमा धेरै दलको अर्थ नहुने भन्दै वैकल्पिक शक्ति निर्माण गर्न पार्टी एकीकरण गर्नुपर्नेको नेताहरुले बताएका छन्। २०६९ मंसिर ७ गते एमालेबाट विद्रोह गरी तत्कालीन उपाध्यक्ष अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठन भएको थियो। पार्टीले जातीय मुद्दालाई स्विकार नगरेको भन्दै एमालेबाट अधिकांश आदिवासी जनजाति पृष्ठभूमिका नेता बाहिरिएका थिए।

पार्टी गठन गरेको केही वर्षपछि नै उपाध्यक्षको जिम्मेवारी पाएका विजय सुब्बाले गत साउनमा पुन एमालेमै फर्केका थिए। सुब्बालगायतका नेता एमालेमा फर्केपछि नै संघीय समाजवादी संकटमा परेको थियो। एमाले छोडेर संघीय समाजवादीको उपाध्यक्ष बनेका गोपालठाकुरसहितका मधेसी नेताले पनि संघीय समाजवादी छोडिसकेका छन् भने पार्टीभित्रै रहेका कतिपय नेताहरु पनि सक्रिय छैनन।

उता दोस्रो संविधानसभामा अनपेक्षित हार व्यहोरेका मधेस केन्द्रित दलबीच पनि निर्वाचनलगत्तै एकता प्रक्रिया अगाडि बढाएका थिए। तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पहलमा अगाडि बढाइएको एकीकरण प्रक्रियामा सद्भावना र फोरम लोकतान्त्रिकपनि सहभागी थिए। तर उपेन्द्र यादव नमाकेका कारण भन्दै उक्त एकीकरण प्रक्रिया नै विथोलियो थियो। मधेसी दलबीच एकीकरण हुने अवस्था नदेखेपछि यादवले संघीय समाजवादीसँग एकता प्रक्रिया अगाडि बढाएका थिए। संविधानसभामा फोरम नेपालको दश सिट छ भने संघीय समाजवादीको पाँच सिट रहेको छ।

प्रकाशित: ३२ जेष्ठ २०७२ ०१:४४ सोमबार