राजनीति

जनतासंग लोकप्रिय बन्न गाडी फिर्ता गर्दै जनप्रतिनिधि

कार्यालय प्रमुखलाई गाडीको साचो बुझाउँदै कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्री।

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले लोकप्रियता देखाउन आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन्। 

निर्वाचन प्रचार प्रसारका साथै पार्टीको काममा सरकारी गाडीको दुरुपयोग भएको सामाजिक सञ्जालमा चर्चा चल्न थालेपछि केहि जनप्रतिनिधिले गाडी फिर्ता गरेर लोकप्रियता देखाउन थालेका हुन्।  

२०७४ सालको स्थानीय तहको निर्वाचन पश्चात जित हाँसिल गरेका जनप्रतिनिधिले सुविधा उपभोग गर्न तछाडमछाड गरेका तीनै जनप्रतिनिधिले अहिले धमाधम सवारी फिर्ता गर्न थालेका हुन्। यहाँको कमलामाई नगरपालिका मेयर र उपमेयरले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्। 

राजनीतिक अभियानमा जाँदा सरकारी गाडी प्रयोग आफुहरुले नगर्ने भएकाले गाडी फिर्ता गरिएको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बताए। राजनीतिक अभियानमा सरकारी गाडीको उपयोग गर्ने छैनौ, उनले भने, राजनीतिक अभियानमा जनताको घरदैलोमा पुग्दा हामी राजनीतिक कर्मीकै भुमिका निर्वाह गर्नेछौं। 

मेयर उपमेयरले प्रयोग गर्दै आएको गाडी प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाललाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। निर्वाचन नजिकिदै आएकाले निर्वाचनका गतिविधिमा आफुहरुले गाडी दुरुपयोग गर्न हुदैन भन्ने मनसायले गाडी फिर्ता गरेका उपमेयर मञ्जु देवकोटाले बताइन्। नगरपालिकाबाट पाएको सरकारी सेवा सुविधा अनुसार गाडी आफुहरुले प्रयोग गर्दै आएपनि चुनावी दौरानमा प्रयोग गरेर दुरुपयोग गर्नु उचित नभएकाले फिर्ता गरेको हु, उपमेयर देवकोटाले भनिन्।  

गाडी फिर्ता गर्ने कमलामाई नगरपालिकाका मेयर उपमेयर पुन जनप्रतिनिधिको टिकटको अपेक्षामा छन्। उनिहरु दुबै नेकपा एमालेबाट तत्कालिन समयमा निर्वाचित भएका थिए। यस्तै नेपाली काँग्रेसबाट निर्वाचित भएका यहाँको घ्यालेख गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले समेत आफुहरुले प्रयोग गर्दै आएको गाडी दुई साता अगाडीनै फिर्ता गरिसकेका छन्। 

दलहरुको निर्वाचन लक्षित कार्यक्रम सुरु भएसँगै गाँउपालिका अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गा सुनुवारले गाडी फिर्ता गरेका हुन्। जनताको काम गर्दा समयमै पुग्नुपर्ने भएकाले गाँउपालिका भित्रका जनताले विश्वास गरि मत हालेर आफुलाई गाडीको सुविधा दिएको भन्दै दुरुपयोग नहोस् भनेर चैत १० गतेनै गाडी फिर्ता गरेको हुँ, अध्यक्ष भोलनले भने।  

आफूहरुले जनताको काम समेत कार्यालयलाईनै सुम्पिने बेला आएकाले आफूहरुले प्रयोग गर्दै आएको गाडी गाँउपालिकालाई हस्तान्तरण गरेको बताए। आचारसंहिता लागु हुनु अगावै बुझाएर उनिहरुले नैतिकता देखाएको कार्यालयले जनाएको छ। घ्यालेख गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीले गाँउपालिकाका अध्यक्ष उपाध्यक्षले आफ्नो सुविधाको गाडी चुनावको आचारसंहिता लागु हुनु अगावै कार्यालयलाई हस्तान्तरण गरेर राजनीतिक संस्कार देखाएको बताए। यस्तै गोलञ्जोर गाँउपालिकाका केहि वडा अध्यक्षले समेत आफूहरुले प्रयोग गर्दै आएको मोटसाइकल फिर्ता गरेका छन्। 

प्रकाशित: २३ चैत्र २०७८ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App