राजनीति

बेसाहा प्रवृत्तिको अन्त्य हुनुपर्छः ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको व्यापार घाटा कम गर्न नेपाली जनताले आफ्ना आनीबानी सुधार्नुपर्ने बताएका छन्।

निर्यात व्यवसायी महासंघ नेपालको दोस्रो साधारणसभाको उद्घाटन गर्दै ओलीले मुलुक आयातभन्दा पनि निर्यातको बाटोमा अघि बढ्नुपर्ने बताएका छन्। राजधानीमा आयोजित साधारणसभामा पूर्वप्रधानमन्त्री ओलीले बेसाहा प्रवृत्तिले गर्दा मुलुकले सोचे अनुसारको प्रगति गर्न नसकेको बताए। ‘अहिले अनावश्यक क्षेत्रमा अत्यधिक लगानी मात्रै होइन, खर्च पनि भएको छ’, उनले भने– ‘बेसाहा प्रवृत्तिको कारणले नै मुलुकले सोचेअनुसारको आर्थिक प्रगति गर्न नसकेको हो।’

ओलीले विदेशी मुलुकबाट आयात गर्नेतर्फभन्दा पनि निर्यात गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए। ‘हामी नेपाली जनता बेसाहा प्रवृत्ति तर्फभन्दा पनि निर्यात गर्नेतर्फ अघि बढे मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्नेछ’, उनले भने– ‘अरूको देशबाट किन्नेभन्दा पनि बेच्नेतर्फ हाम्रो ध्यान केन्द्रित गर्नुपर्छ।’

पूर्व प्रधानमन्त्री ओलीले नेपालबाट धान, गहुँ निर्यात गर्न नहुने बताए। ‘नेपालमा नै धान, गहुँको अभाव भइरहेको छ’, उनले भने– ‘जानेर वा नजानेर हामीले धान र गहुँ निर्यात गरिरहेका छौं, त्यो तत्कालै नियन्त्रण गर्नुपर्ने हुन्छ।’ पूर्वप्रधानमन्त्री ओलीले मुलुक आत्मनिर्भर भएका वस्तु तथा सेवा मात्रै निर्यात गर्नेुपर्ने धारणा व्यक्त गरे।

निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष रामबहादुर गुरुङले नेपालले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा एक खर्ब ४७ अर्ब रूपैयाँ बराबरको सामान निर्यात गरेको बताए। ‘नेपालले चालु आर्थिक वर्षमा २ अर्ब डलर निर्यात गर्ने लक्ष्य राखेको छ’, उनले भने– ‘नेपालको निर्यातभन्दा आयात धेरै हुँदा व्यापार घाटा बढ्दो क्रममा छ।’

महासंघले तीन वर्षमा नेपालको निर्यात व्यापार एक अर्ब डलरबाट २ अर्ब डलर पुर्‍याउने लक्ष्य राखेको छ। महासंघका अध्यक्ष गुरुङले सन् २०२५ सम्म नेपालले ७ अर्ब डलर बराबरको नेपाली वस्तु तथा सामग्री निर्यात गर्ने लक्ष्य राखेको दाबी गरे। मुलुकमा पछिल्लो समय आयातमुखी राजस्वको कारणले व्यापार असन्तुलन बढ्दै गइरहेको छ।

अध्यक्ष गुरुङले उत्पादन मार्फत आयात प्रतिस्थापन गर्दै देशको अर्थतन्त्रलाई निर्यातको बाटोमा पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको बताए। सरकारले आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ८ अर्ब रूपैयाँको वस्तु आयात गरेको थियो तर निर्यात भने एक खर्ब ४७ अर्ब रूपैयाँको मात्रै गरेको थियो।

वाणिज्य सचिव गणेशप्रसाद पाण्डेले सरकारले निर्यात व्यवसायीले भोग्दै आइरहेको समस्या सम्बोधनको लागि तयार भएको बताए। ‘निर्यात व्यवसायीले आफ्ना समस्या समग्रमा भन्नुभन्दा मर्का परेका विषय स्पष्ट रूपमा बताए भने मन्त्रालय गाँठो फुकाउन तयार रहेको छ’, उनले भने– ‘मन्त्रालय पनि मुलुकको व्यापार घाटा कम गर्दै निर्यात गर्नेतर्फ नै अग्रसर हुँदै आइरहेको छ।’

सचिव पाण्डेले सबै निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। महासंघका महासचिव अमृत खड्काले मुलुकको व्यापार घाटा कम गर्न सरकारले नीतिगत तहमै आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित: २३ चैत्र २०७८ ०१:१४ बुधबार

केपी शर्मा ओली