पर्सा जिल्लालाई फते गर्ने रणनीतिमा पार्टी कस्सिएको भन्ने स्थानीय नेताहरुले दावी गरे अनुसार मंगलबार वीरगन्जमा नेकपा एमालेले शक्ति प्रदर्शनस्वरुप बृहत आमसभा गरेको छ। अघिल्लो स्थानीय तह निर्वाचनताका मधेस विरोधी भनेर प्रचार गरिएको र चुनावअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरिएको ठाउँ हो वीरगन्ज। अहिले दृष्य उल्टो छ।
मधेसवादको नारामा चुनाव जितेका तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट वीरगन्ज महानगरपालिकाको नगरप्रमुख निर्वाचित भएका र केही पहिला नेकपा एमाले प्रवेश गरिसकेका विजयकुमार सरावगी मंगलबार आयोजित सभाका मुख्य कर्ताधर्ता थिए। मधेस आन्दोलनका अर्का चर्चित नेता शिव पटेल यस सभामा धेरैको ध्यान तान्ने वक्ता भए। सभामा बिभिन्न पार्टी त्यागेर नेता कार्यकर्ताहरु एमलेमा प्रवेश गरे। यसरी एउटा चुनावी अन्तरालपछि एमालेको लागि वीरगन्जको महोल ब्यापक फेरिएको देखिएको छ।
नेकपा एमाले अध्यक्ष ओलीले पनि वीरगन्जप्रति प्रेम जाहेर गर्न चुकेनन्। उनले वीरगन्जलाई आधुनिक सहर बनाउने उद्देश्य आफूले लिएको बताए। नेकपा एमाले पर्साले मंगलबार वीरगन्जको घण्टाघर नजिकैको वीपी उद्यानमा आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। ‘मेयर राम्रो हुनुहुन्थ्यो तर उहाँ जीतेको पार्टी नराम्रो भएकोले वीरगन्जको चाहेजस्तो बिकास हुन सकेन,’ ओलीले भने, ‘अब भने वीरगन्जको कायापलट गर्ने उद्देश्यका साथ वीरगन्जमा आएको छुँ।’
अब वीरगन्ज चक्रपथसहितको हरियालीयुक्त चौडा बाटो ,प्राविधिक शिक्षाको हव, मेडिकलको हव ,ग्रिन सिटी जस्ता अवधारणा नेकपा एमालेको नेतृत्वमा सकार पारिने उनको दावी थियो। यही कुरामा विश्वास गरेर मानिसहरु एमालेमा आएको उनले दावी गरे। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पर्सा जिल्ला भ्रमबाट मुक्त भएको बताए। 'समृद्ध नेपाल र सुखी नेपाली' एमालेको नारा एमालेले बोकेको उनले स्मरण गराए। बिजुलीको प्रयोग अनि निर्यात गरेर देश समृद्ध बनाउने, डिजिटल नेपाल तथा आधुनकि प्रविधियुक्त नेपाल बनाउने, पर्यटकीय स्थलहरुको विकास गराउने, निर्यातमुखी उद्योग धन्दा बढाउनेजस्ता कदमले समृद्धिको यात्रा तय गर्ने काम एमालेले गर्ने उनको दावी थियो।
मधेश, पाहाड र हिमालमा बस्ने सबै जातजातीका र सबै भाषाका मानिसहरुको राष्ट्रिय विकास गर्ने उनले दावी गरे। नेकपा एमालेका अध्यक्ष ओलीले आफू तराईको मान्छे भएको बताए। पिठ्युँमा बसेर भैंसी कसरी चराउने? हलो कसरी जोत्ने? चापाकल कसरी गाड्ने? यि सबै कुरा आफूलाई थाहा भएको र आफू ६० वर्षदेखि मधेसको बासिन्दा रहेको दाबी समेत गरे। मधेसमा बयलगाडामा धान, चामल बाकेर हिँडेको स्मरण सुनाउदै उनले मधेशमा मधेसमा पहाडको जस्तो विष्फोट गरेर बाटो बनाउनु नपर्ने अनि यहाँ विकाश गर्न सजिलो हुने बताए।
पार्टीका पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा भएको आमसभामा नेकपा एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, नेता प्रभु हजरा, वीरगन्ज महानगरका प्रमुख बिजयकुमार सरावगी नेता शिव पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रकाशित: २२ चैत्र २०७८ १३:०८ मंगलबार