राजनीति

यी २१ उम्मेदवार जसले आफैलाई भोट हालेनन्

स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्लामा चुनावी सरगर्मी बढेको छ। निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न दलहरु आ—आफ्ना ढंगले लागेका छन्। गाउँमा गाउँमा चुनावी कार्यक्रम र भेटघाटले तीव्रता पाएको छ।

सत्ता गठबन्धनका दलहरुले जिल्लामा पनि गठबन्धन गर्ने सैद्धान्तिक सहमति जुटाएर प्राविधिक पक्षहरुको आँकलनमा लागेका छन्। एमालेले पनि अन्य दलहरुसंगको चुनावी सहकार्यलाई खुला राखेको छ। सत्तारुढ गठबन्धनबीच सहमति कायम हुन नसकेको खण्डमा केही दललाई तानेर निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सकिने ताकमा एमाले देखिएको छ।

निर्वाचनको संघारमा आईपुग्दा दलहरुले विगतको नतिजाको पनि समीक्षा गर्न थालेका छन्। स्थानीय तह निर्वाचन २०७३ को नतिजा खेलाउँदा बागलुका विभिन्न स्थानीय तहमा उम्मेदवार बनेका २१ जनाले आफुले आफैलाई पनि मत नहालेको देखिएको छ। नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र तथा नेकपा माओवादी केन्द्र र कतिपय स्वतन्त्र उम्मेदवार भएका व्यक्तिहरुले शून्य मत प्राप्त गरेका छन्। निर्वाचनमा उम्मेदवार बन्नका लागि सम्बन्धित ठाउँमा मतदाता रहेको एक जना प्रस्तावक र एक जना समर्थक चाहिन्छ। निर्वाचनमा उम्मेदवार कायमै रहेर पनि एक मत पनि प्राप्त नगर्नुले उनीहरुले आफैले आफैलाई मत नहालेको देखिन्छ।

शून्य मत रहेकाहरुमा नेकपा एमालेबाट काठेखोला गाउँपालिका—१ मा महिला सदस्य उम्मेदवार सुवास्ना विक, काठेखोला—६ मा राष्ट्रिय जनमोर्चाबाट वडा सदस्य उम्मेदवार बनेका प्रशुराम कँडेल, नेकपा माओवादी केन्द्रबाट काठेखोला—७ मा वडाध्यक्षका उम्मेदवार रुपा सुनार, सदस्य लोकबहादुर थापा, रणबहादुर जिसी, पवित्रा थापा रहेका छन्। जैमिनी नगरपालिका—१ कुस्मीसेरामा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बनेका पदमबहादुर श्रीस, वडा सदस्य उम्मेदवार गोपाल जैसी, राष्ट्रिय जनमोर्चाका वडा सदस्य उम्मेदवार टिकाराम थापा, जनमोर्चाकै महिला वडा सदस्य दघिकला चपाइँ, माओवादी केन्द्रबाट महिला सदस्य उम्मेदवार सुनिता सार्कीले पनि कत्ति मत पाएनन्।

शून्य मत पाउनेमा जैमिनी नगरपालिका—३ मा महिला सदस्यका स्वतन्त्र उम्मेदवार सीता छन्त्याल, जैमिनी नगरपालिका—१० राङ्खानीमा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार मिमबहादुर श्रीस, ढोरपाटन नगरपालिका—२ मा महिला सदस्यका स्वतन्त्र उम्मेदवार सेमकुमारी विक, ढोरपाटन नगरपालिका—३ मा स्वतन्त्र सदस्य उम्मेदवार टेकबहादुर कामी पनि छन्। ढोरपाटन नगरपालिका—४ मा नयाँ शक्तिा पार्टी नेपालबाट वडाध्यक्ष उम्मेदवार बनेका थपप्रकाश गिरी, तारोखोला गाउँपालिका—१ मा सदस्यका स्वतन्त्र उम्मेदवार छमप्रसाद घर्ती, ताराखोला—२ मा वडा सदस्यका स्वतन्त्र उम्मेदवार हर्कबहादुर घर्ती, गोविन्द परियार, ताराखोला गाउँपालिका—३ मा संघीय समाजवादी फोरम नेपालबाट सदस्य उम्मेदवार कविकलि रोका र बागलुङ नगरपालिका—१ मा संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्ष उम्मेदवार बनेका कृष्ण शर्माको मत पनि शून्य छ।

उम्मेदवारी दर्ता भैसकेपछि चुनावी तालमेल भएका कारण उम्मेदवार कायमै भए पनि भोट नखसेको माओवादी केन्द्र  र राष्ट्रिय जनमोर्चाले जनाएको छ। ‘अघिल्लो स्थानीय निर्वाचनमा हाम्रो चुनावी तालमेल थियो,’ नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले भने,‘काठेखोलामामा वडा नम्बर १ मा हाम्रो अध्यक्षलाई समर्थन गर्नेगरी अन्यत्र हामीले समर्थन गरेका हौं। त्यसले गर्दा उम्मेदवार कायमै रहँदा पनि भोट नपरेको हुनसक्छ।’ राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोख्रेलले पनि चुनावी तालमेल गर्दा त्यस्तो भएको हुन सक्ने बताए।

‘गत स्थानीय निर्वाचनमा काठेखोला, बागलुङ र जैमिनीमा एमालेसंग चुनावी तालमेल भएको हो,’ उनी भन्छन्,‘गठबन्धनमा भागबण्डा मिलाउँदा ढिलो भएका कारण उम्मेदवार कायम रहेकोले त्यस्तो हो।’ जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले उम्मेदवारी फिर्ता लिने निर्धारित समय भित्र फिर्ता नभएका सबै उम्मेदवारको नाम कायमै रहने र कसैले भोट हाल्ने नहाल्ने भन्ने मतदाताको अधिकार भएकोले निर्वाचन आयोगले यस विषयमा कुनै प्रतिक्रिया जनाउन नमिल्ने बताउँछन्।

अधिवक्ता राम शर्मा भने उम्मेदवारी दर्ता गरेर आफैले मत नहाल्नु ठिक नभएको बताउँछन्। ‘उम्मेदवार दर्ता गरेर फिर्ता नगर्ने तर आफैले आफैलाई मत नहाल्नु राम्रो कुरा होईन,’ उनी भन्छन्,‘आफूले आफैलाई भोट नहाल्नुले जनमानसमा राम्रो सन्देश दिँदैन।’

प्रकाशित: २१ चैत्र २०७८ १५:१६ सोमबार