राजनीति

पोखराका मेयरका आकांक्षीः व्यवसायीदेखि प्राध्यापकसम्म

स्थानीय तह निर्वाचनको तिथि नजिकिँदै जान थालेपछि राजनीतिक माहोल पनि तात्न थालेको छ। आउँदो वैशाख ३० गते हुने निर्वाचनमार्फत स्थानीय तहले आगामि पाँच वर्षकालागि जनप्रतिनिधि पाउँदैछन्। अघिल्लो पटकका जनप्रतिनिधिको कार्यकाल सकिएर निर्वाचनमार्फत नयाँ जनप्रतिनिधि चयन हुने भएकोले अहिले नेतृत्व लिनेगरि रस्साकस्सी सुरु भएको छ।  

अगामी स्थानीय तहको निर्वाचनमार्फत पोखरा महानगरको नेतृत्व लिने चाहना बोकेर अहिले राजनीतिक दलका नेतासँगै व्यवसायी पनि अगाडि सरेका छन्। विभिन्न दलसँग निकट रहेका ती व्यवसायी अहिले कुनैपनि हालतमा उम्मेदवारी आफूले पाउनुपर्ने तर्क राखेर सक्रिय भएका छन्। व्यवसायिकसँगै राजनीतिक क्षेत्रमा योगदान दिएकोे भन्दै महानगरको नेतृत्व आफूले पाउनुपर्ने उनीहरुको तर्क छ। राजनीतिक दलकै आडमा व्यवसायीले महानगरको अब्बल उम्मेदवारको रुपमा आफूलाई अघि सारेका छन्।

अहिले पर्यटन व्यवसायी नै अझ बढि महानगरको मेयरको आकांक्षी देखिएका छन्। कांग्रेसबाट पोखरा महानगरको मेयर हुन चाहेका व्यवसायी हुन विश्वशंकर पालिखे। पालिखे पोखरा उद्योग बाणिज्य संघको पुर्वअध्यक्ष पनि हुन्। उनी पर्यटन व्यवसायमा पनि सक्रिय छन्। पालिखेले पोखराको विकासका लागि योगदान दिएको भन्दै मेयरको आकांक्षी रहेको बताए। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन, सडक सौर्यबत्ती जडान, कोरोनाको बेला भेन्टिलेटर सोसाइटी बनाएर योगदान दिएको लगायतका आफुले काम गरेकोले मेयरको उम्मेदवारको दाबी गरेको पालिखे बताउँछन्।  

‘विमानस्थल तयार भएसँगै पोखरा अब अन्तर्राष्ट्रिय सहर बन्न थालेको छ। यो सहरबाट आर्थिक छलाङ मार्नका लागि पर्यटनलाई विशेष ध्यान दिनुपर्छ,’ पालिखेले भने, ‘पर्यटनलाई ग्रामिण अर्थतन्त्र जनताको आर्थिक अवस्था उकास्न सघाउनुपर्छ।’ त्यस्तै यहाँका सामुदायिक विद्यालयको स्तर बढाएर सामान्य देखि धनी परिवारको छोराछोरीले पढ्ने विद्यालय बनाउन जरुरी रहेको पनि उनले बताए। 

‘स्वास्थ्य क्षेत्रमा पनि व्यापक परिवर्तन गर्न जरुरी छ। अहिले नामका मात्र स्वास्थ्य चौकी छन्, तिनलाई साँच्चैका स्वास्थ्यचौकी आवश्यक छ,’ उनले भने, ‘जनताका आधारभूत आवश्यकता अहिलेको स्थानीय तहले पुरा गरेको छैन। ती पूरा गर्ने जिम्मा मैले लिन खोजेको हुँ।’

त्यस्तै लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी पनि पोखरा महानगरका मेयरका आकांक्षी हुन्। कांग्रेसबाट उम्मेदवार हुन चाहेका गिरीले स्थानीय सरकार सञ्चालनका लागि राजनीतिक मात्र नभई योजनाबद्धरुपमा अघि बढ्न सक्ने व्यक्ति आवश्यक हुने बताउँछन्। ‘हरेक राजनीतिक शक्तिलाइ संयोजन गर्नुपर्ने हुन्छ। समग्र पोखरा उपत्यकाको विकासको खाका कोर्नका लागि म सँग पर्याप्त आधार छन्। हामीले व्यवसायिक फाँट्मा बसेर मात्र खासै गर्न सकिन्न। त्यसका लागि निर्णायक ठाउँ मानिएको राजनीतिक फाँटमा आउन चाहेको हुँ,’ गिरीले भने, ‘व्यवसायीको पनि चाहना र सहयोगको अपेक्षाले अघि बढ्दैछु।’

कांग्रेसबाटै महानगरको मेयर हुन चाहेका अर्का आकांक्षी लेकसाइडका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई हुन्। भट्टराई तत्कालिन पोखरा उपमहानगरपालिकाका उपमेयर पनि हुन्। उनीसँग पर्यटन क्षेत्रको लामो अनुभव छ। पोखरालाई सभ्य र भव्य महानगर बनाउनुपर्ने र त्यसका लागि इच्छाशक्ति भएको व्यक्ति मेयर हुनुपर्ने भट्टराईको तर्क छ।  

भट्टराई भन्छन, ‘जो सुकैले नेतृत्व लिन सकेपनि आगामी दिनमा पोखराको समृद्धि र विकासका लागि निकै नै ठुलो मेहनत गर्न जरुरी छ। किनकी पोखरा अझै बिग्रिसकेको छैन, तर, अब पनि पाँचवर्षमा यसलाई सही ट्रयाकमा ल्याउन सकेनौ भने हामीले हाम्रो पोखरालाई आफ्नै हातबाट बिगार्नेछौ, जसलाई सपार्न उत्ति सहज हुने छैन।’  

पोखराको समृद्धि केवल उपत्यकाका लागि मात्र नभई यसको मुख्य प्रभाव क्षेत्रकारुपमा पूर्वतर्फ पृथ्वीराजमार्गको मुग्लिनदेखि पश्चिमतर्फ राम्दीसम्मको क्षेत्रका साथै उत्तरमा धवलागिरीका म्याग्दी मुस्ताङ सम्मका भूभागसँगै दक्षिणमा त्रिवेणीसम्मलाई समेट्नु जरुरी रहेको भट्टराई बताउँछन्। ‘वृहत पोखराको अवधारणालाई महानगरका प्रत्येक कुनकुनामा वासिन्दाले अनुभूति गर्नेगरी र महानगरवासी भएकोमा गर्व गर्ने गरी अघि बढाउनु जरुरी छ,’ उनले भने, ‘त्यसका लागि इच्छाशक्ति भएको व्यक्ति हुनुपर्छ।’

एमालेबाट पनि व्यवसायीले मेयरमा आकांक्षा देखाएका छन्। पोखरा उद्योग बाणिज्य संघकै पूर्व अध्यक्ष सञ्जीवबहादुर कोइराला पनि मेयरका आकांक्षी हुन्। कोइरालाले एमालेभित्र रहेर लामो समयदेखि राजनीति गरेको भएपनि व्यवसायमा व्यस्तता हुँदा योगदान कम देखिन सक्ने बताउँछन्। ‘सधैं राजनीतिक दलबाट र पुरानै व्यक्तिमात्र उम्मेदवार हुने भन्ने हुँदैन। व्यवसायिक क्षेत्रबाट पनि आउनुपर्छ भनेर भनिएको छ। अबको पालो व्यवसायीको हो,’ कोइरालाले भने, ‘निर्वाचनमा उम्मेदवार हुनका लागि पनि पार्टीभित्रको निर्वाचनमार्फत छनोट हुनुपर्छ । उद्योगी व्यवसायीकोतर्फबाट म आकांक्षी हुँ।’  

पोखरामा सेवाग्राहीले बडापत्र अनुसारको काम नपाउँदा सकस भएकोले पनि व्यवस्थापनको काम धेरे नै बाँकी रहेको उनले बताए। ‘विकास निर्माण पनि व्यक्ति हेरेर दिइएको छ। महानगरले सही तरिकाले काम गरेको छैन। महानगरभित्र सबै बराबर हुन, तर, कसैलाई काखा र कसैलाई पाखा हुनु हुँदैन,’ उनले भने, ‘आवश्यकताका आधारमा काम हुनुपर्छ।’ 

आफू व्यवसायी भएकोले पोखरा भित्र गैर व्यवसायीको अन्त गर्न जरुरी रहेको उनले बताए। ‘बजारलाई व्यवस्थित गर्न सकिन्छ। कृषि उत्पादन बढाउन सकिन्छ। महानगरभित्रका बाँझो जग्गालाई अनुदान दिएर उत्पादनमा जोड्न सकिन्छ,’ उनले भने। आफू व्यवसायी मात्र नभई विद्यार्थी समयदेखि राजनीतिमा होमिएकोले निर्वाचनमा अघि बढ्ने उनले बताए।  

एमालेबाटै अर्का आकांक्षी हुन रुपाकोट रिसोर्टका संचालक पुष्पराज अघिकारी। अधिकारीले पोखरालाई व्यवस्थित सहर बनाउने सोचका साथ निर्वाचनमा मेयरको उम्मेदवार बन्ने आकांक्षा पलाएको बताए। ‘पोखरालाई नमुना र व्यवसायिक सहर बनाउन सकिन्छ। पोखराको विकासको खाका मसँग छ,’ अधिकारीले भने, ‘बिग्रिएको पोखरालाई हस्तक्षेप गरेर व्यवस्थित बनाउन खोजेको हुँ। व्यवसायी भएपनि म राष्ट्रको जिम्मेवार नागरिक पनि हुँ।’ पोखरालाई सामान्य सहरबाट व्यवस्थित सहरमा परिणत गर्न आवश्यक रहेको र त्यसका लागि सक्षम नेतृत्व चाहिएको उनले बताए।  

प्राध्यापन छाडेर मेयरका आकांक्षी

पृथ्वीनारायण क्याम्पसबाट राजीनामा दिएर पोखरा महानगरको मेयर बन्न चाहेका व्यक्ति हुन् प्राडा विश्वकल्याण पराजुली। उनी एमालेबाट मेयरका आकांक्षी हुन्। उनले पोखराको सहरी समाजशास्त्र विषयमा पीएचडी गरेका छन्। ‘मैले पोखराको सहरीकरणको अवस्था बुझेको छु। यहाँको राजनीति ट्रयाकमा छैन। ट्रयाकमा नभएकोले राजनीतिलाई सही बाटोमा हिडाउनका लागि म अघि सरेको हुँ,’ पराजुलीले भने, ‘राजनीति पनि मर्यादित हुनुपर्छ। राजनीतिमा लाग्ने व्यक्ति पनि मर्यादित हुनुपर्छ।’ मर्यादित तरिकाले राजनीतिमा लाग्ने गरि आफुले प्राध्यापन पेशा छाडेको पराजुलीले बताए। राजनीति पेशा नभई समाजसेवा हुनुपर्नेमा यहाँ पेशा बनाउँदा समस्या भएको पराजुलीले बताए।

प्रकाशित: २० चैत्र २०७८ ०८:५७ आइतबार

पोखराका मेयरका आकांक्षी