राजनीति

प्रधानमन्त्रीको भ्रमणले नेपाल भारत सम्बन्ध अझ प्रगाढ हुन्छ: प्रवक्ता कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने बताएका छन्।

सञ्चारमन्त्री कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने औपचारिक भ्रमणमा आज प्रस्थान गर्नुहुँदैछ। मुलरुपमा नेपाल र भारतको बिचमा सदिऔँदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पु¥याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहनेकुरा म यहाँहरुमार्फत् निवेदन गर्न चाहान्छु।’

बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तिन दिने भारत भ्रमणले नेपाल र भारतबिचको सम्बन्धलाई अझ प्रगाढ र उच्च स्तरमा पुर्‍याएर मुलुकको हित गर्ने बताएका हुन्। प्रधानमन्त्री देउवा शुक्रवारनै भारत प्रस्थान गरिसकेका छन्। 

प्रकाशित: १८ चैत्र २०७८ ०९:१८ शुक्रबार