राजनीति

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा यसरी खटाइने छ कर्मचारी

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा खटिने जनशक्ति व्यवस्थापनका लागि निर्देशिका जारी भएको छ।  

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७१ बमोजिम स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ जारी गरेको हो। जारी निर्देशिका अनुसार महानगरपालिका नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ जना र महानगरपालिका भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १० जनासम्म कर्मचारी खटिने छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक (जिल्ला अदालतका न्यायाधीस), सहायक निर्वाचन अधिकृत एक (राजपत्राङ्कित द्धितिय वा तृतीय श्रेणी वा अधिकृत नवौं,दशौं,आठौं वा सातौं),लेखा अधिकृत वा लेखापाल एक र सहायक कर्मचारी (राजपत्र अनंकित प्रथम वा द्धितिय श्रेणी वा सहायक पाँचौं वा चौथो)एकजना खटिने छन्। यस्तै कम्प्युटर अपरेटर (राजपत्र अनंकित प्रथम वा द्धितिय श्रेणी वा सहायक पाँचौं वा चौथो) एक,सवारी चालक वा सयस(सवारी वा घोडा भएमा) एक जना, कार्यालय सहयोग दुई जना र निजी सुरक्षा अधिकारी (पिएसओ) एक जना खटिने छन्।  

महानगरपालिका भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने उल्लेखित बाहेक अन्य प्रशासनिक कार्य सम्पादनका लागि एक जना (राजपत्राङ्कित तृतीय श्रेणी वा अधिकृत स्तर सातौं वा आठौं तहको) एक जना कर्मचारी थप हुने व्यवस्था रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाहेक अन्य निर्वाचन अधिकृतको कार्यालयमा बढीमा ९ जनासम्म कर्मचारी खटिने छन्।

जस अनुसार निर्वाचन अधिकृत एक,सहायक निर्वाचन अधिकृत राजपत्राङ्कित तृतीय श्रेणी वा अधिकृत सातौं वा आठौं तह एक जना,लेखापाल वा सहलेखापाल एक जना,सहायक कर्मचारी (राजपत्र अनंकित प्रथम वा द्धितिय श्रेणी वा सहायक पाँचौं वा चौंथो) एक जना र कम्प्युटर (राजपत्र अनंकित प्रथम वा द्धितिय श्रेणी वा सहायक पाँचौं वा चौंथो) एक जना खटिने छन्। यस्तै, सवारी चालक वा (सयस सवारी) वा घोडा भएमा-एक जना, कार्यालय सहयोग दुई जना र निजी सुरक्षा अधिकारी (पिएसओ) एकजना खटिने छन्।

निर्वाचन अधिकृतले आफ्नो कार्यालयका लागि आवश्यक पर्ने कर्मचारी उपलब्ध भएसम्म सम्वन्धित स्थानीय तह भित्रका कार्यालयमा कार्यरत सरकारी कर्मचारी मध्येबाट र त्यस्ता कर्मचारी उपलब्ध हुन नसकेमा मात्र जिल्लास्थित अन्य सरकारी कार्यालयबाट काजमा खटाउनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।

निर्देशिका अनुसार निर्वाचन कार्यक्रम सञ्चालन अवधिको कार्यबोझलाइ दृष्टीगत गरी १० वटा भन्दा बढी वडा रहेको स्थानीय तहको हकमा प्रत्येक थप तीन वटा वडाका लागि उम्मेदवारको मनोनयपत्र दाखिला गर्ने अघिल्लो दिनदेखि आठदिनसम्म मुख्य निर्वाचन अधिकृत निर्वाचन अधिकृतको कार्यालयमा एक जना सहायक कर्मचारी थप गर्न सकिने भएको छ।

यस्तै ७५ वटा भन्दा माथि मतदान केन्द्र भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृत,सहायक मतदान अधिकृतलाइ दैनिक तथा भ्रमण खर्च एवम् मतदान केन्द्रसंग सम्वन्धित खर्च भुक्तानी दिने कार्यका लागि जनशक्ति आवश्यक भएमा बढीमा ७ दिनसम्मका लागि लेखापाल वा सहलेखापाल कर्मचारी काजमा ल्याउन सकिने प्रवन्ध निर्देशिकाले गरेको छ।

जस अनुसार ७५ देखि १ सय वटासम्म मतदान केन्द्र भएमा एक जना,१ सयदेखि २ सय वटासम्म मतदान केन्द्र भएमा दुई जना,२ सय वटा देखि ३ सय वटासम्म भएमा तीन जना र ३ सयदेखि ५ सय वटासम्म मतदान केन्द्र भएमा चारजना र सो भन्दामाथि जतिसुकै मतदान केन्द्रमा भएमा पाँच जनासम्म लेखापाल वा सहलेखापाल कर्मचारी काजमा ल्याउन सकिने भएको छ।

प्रकाशित: १५ चैत्र २०७८ ०८:३५ मंगलबार