राजनीति

विकासका काम भएका छन्ः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्‍याएर सेवा गर्दै आएको बताएकी छिन्।

ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले पहिलो पटक अधिकार सम्पन्न भएको जनताको नजिकको वडाले नयाँ अनुभव हासिल गर्दै जनसेवा गरेको आफूले अनुभूत गरेको बताइन्।

वडा अध्यक्षले अहोरात्र खटेर वडामा बाटो विस्तार गर्नुका साथै अन्य भौतिक पूर्वाधारको विकास गरेको उल्लेख गर्दै मन्त्री भुसालले अन्य सहरीकरणका काममा पनि वडाले विशेष ध्यान दिएर सम्पन्न गरेको बताइन्। उनले भनिन्, 'कुनै पनि मतभेद नभइकन एकै मनोविज्ञानले वडामा विकासका काम भएका छन्, महिलाका निम्ति सीप, ज्येष्ठ नागरिकका लागि राहत वडाले उपलब्ध गराएको छ।'

कोभिडको महासङ्कटमा आफ्नो ठाउँमा आइसोलेशन सेन्टर स्थापना गरेर जनतालाई संक्रमणबाट जोगाउन वडा सफल भएको जनाउँदै उनले युवाका लागि खेलकूद तथा किसानका लागि राहत र रोजगारी सिर्जना गरेको स्मरण गरे।

हरिसिद्धिको कनिखेलस्थित वडा भवन नै यहाँका वडावासीका लागि सिंहदरबार भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्न वडा सक्रिय भएर लाग्ने विश्वास व्यक्त गरिन्। आगामी दिनमा वडाको आर्थिक तथा सामाजिक विकास गर्नु नै वडाको महत्वपूर्ण काम हुने उनको भनाइ थियो।

प्रकाशित: १४ चैत्र २०७८ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App