राजनीति

दल फेरबदलको लहड

शुक्रबार तनहुँमा नेकपा एमाले त्याग गर्दै एकीकृत समाजवादीमा गएका शुक्लागण्डकी नगरपालिकाका दुई वडाध्यक्षसहित तीन जना जनप्रतिनिधि फेरि एमालेमा फर्किए।

एमाले अध्यक्ष केपी ओली प्रतिगमनकारी भएको भन्दै छाडेका उनीहरू अहिले माधव नेपालले एमसिसि पास गराएको भन्दै समाजवादीबाट एमालेमा फर्किएको बताए। भव्य कार्यक्रम गर्दै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङले तीन जना जनप्रतिनिधी सहित समाजवादीसँगै नेपाली कांग्रेस र माओवादी केन्द्र छाडेर आएकालाई पार्टी प्रवेश गराए।

शुक्रबार नै जिल्लाको बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरेका १५ जनालाई पार्टी प्रवेश गरायो। गत बुधबार आँबुखैरेनी गाउँपालिकामा कम्युनिष्ट पार्टी परित्याग गरेका ६१ जनालाई पार्टी प्रवेश गराएको भन्दै नेपाली कांग्रेसका नेताहरूले फेसबुकमा तस्बिर सार्वजनिक गरे। आगामी चैत १७ गते दमौलीमा राप्रापाले स्थानीय तहको चुनाव लक्षित आमसभा गर्दैछ।

आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने जनाइएको छ। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै राप्रपा प्रवेश गर्नेलाई स्वागत गरिने भन्दै प्रचारप्रसार गरिरहेका छन् राप्रपाका नेता कार्यकर्ताहरू। यी त केबल प्रतिनिधीमुलक दल फेरबदल अर्थात पार्टी प्रवेश कार्यक्रमका हुन्। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणसँगै जिल्लामा दल फेरबदलको लहड नै चलेको छ।

निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिरहेको छ। राजनीतिक दल पनि निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छन्। गाउँगाउँ र घरघरमा जान थालेका दलले पार्टी प्रवेशका कार्यmक्रम दैनिकजसो गर्न थालेका छन्। गाउँ पसेका दलहरूले आफ्ना अजेन्डा प्रस्तुत गर्नुभन्दा पार्टी प्रवेश कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको पाइन्छ।

जिल्लाका क्रियाशिल दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरू स्थानीय निर्वाचनको संघारमा विभिन्न पार्टीमा आवद्ध भएकालाई तानातान गर्दै आफ्नो पार्टी प्रवेश गराउन व्यस्त छन्। दैनिकजसो पार्टी प्रवेश गराउने लहरो चलिरहँदा दलहरूसँग कति आए र कति गए भन्ने यकिन तथ्यांक भने छैन।

नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मीभक्त खनाल भन्छन्, ‘यो महिनादेखि हामीले बल्ल कतिले पार्टी प्रवेश गरे भनेर तथ्यांक राख्दैछौँ। यसअगाडि यसरी पार्टी प्रवेशको लहर चलेको थिएन्। त्यसैले पनि हामीले तथ्यांकक राखेनौँ।’ पछिल्लो समय कांग्रेसमा आउनेको लहर बढेको उनको दाबी छ तर पार्टी प्रवेशको लहर पार्टीका लागि लाभदायक नभएको खनाल स्विकार्छन्।

‘कतिपय चुनाव जित्छौँ कि भनेर पनि आएका हुन्छन्। त्यसको दिर्घकालीन प्रभावबारेमा सजग छौँ,’ थप्दै उनी भन्छन, ‘पार्टी प्रवेशका लहर खासै लाभदायक त हैन। भोलि अन्त पनि जान सक्छन् उनीहरू।’ यस्तै दाबी छ नेकपा एमालेको पनि। पार्टीले स्थानीय निर्वाचनमा अधिकांश स्थानमा जित हासिल गर्ने भएकाले प्रवेश गर्नेको लहर भएको दाबी गर्छन जिल्ला सचिव राजेश्वर ढकाल।

उनी भन्छन्, ‘कतिपय अवसरका निम्ति पनि दायाँवायाँ लाग्ने हुन्छन्। कतिले विचारसँग जोडिएर पनि एमालेलाई रोजेका छन्।’ १५० कार्यकर्ता पार्टी छाडेर समाजवादीतर्फ लागेकोमा अन्य दलबाट झन्डै तेब्बरले एमालेलाई रोजेको उनको दाबी छ। सिद्धान्तभन्दा पनि स्वार्थमा लिप्त भएर पार्टी फेरबदल गर्नेहरू विकास र सम्बृद्धीसँग खासै सरोकार राख्दैनन्।

उनीहरू पार्टी प्रवेश कार्यक्रमको दिन पहिरिने खादा माला र अबिरमै मख्ख बन्छन्। पार्टी परिर्वतन गरिरहने अधिकांश त स्थिर भएकै पाइँदैन। जसले जता लोभ देखायो उतै दौडिन्छन्। तरल मानसिकता भएका पार्टी प्रवेश गर्दैमा पार्टी बलियो भएको आँकलन गर्न नमिल्ने पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल बताउँछन्।

‘चुनाव आएपछि दल बदल्ने बढी नै हुन्छ। चुनावको बेला यो स्वाभविक पनि हो। तर पार्टी प्रवेश गरेकै आधारमा कुनै पनि दल बलियो भयो या कमजोर भयो भनेर विश्लेषण गर्न मिल्दैन। किनभने स्थिरता कति छ त्यसले प्रभाव पार्दछ। चुनावको अन्तिम बेलामा कसरी जान्छन् भन्ने महत्त्वपूर्ण हुन्छ।’ आर्थिक लेनदेन, राजनीतिमा आफूलाई बलियो र व्यावसायिक बनाउने समय ठानेर दल बदल्ने प्रचलन बढी रहेको उनको विश्लेषण छ।

‘केही इमान्दारिताका साथ पनि दल बदल्छन्। महत्त्व यही बेला हुन्छ। मूल्यांकन हुने बेला यही हो भनेर पनि लाग्दछन्,’ उनले भने। चुनाव लागेपछि आउने जानेहरू फेरि बदलिन सक्ने प्राध्यापक दाहालको भनाइ छ। स्थानीय निर्वाचन नजिकिएसँगै जिल्लामा शिलान्यासदेखि उद्घाटनका कार्यक्रम गर्ने पनि होडबाजी छ। विकास निर्माणमा जस लिनलाई राजनीतिक दलको होडबाजी चलेको हो। शिर्ष तहका नेता जिल्लामा ल्याएर शिलन्यासदेखी उद्घाटन गर्नलाई दलबीच प्रतिस्पर्धा चलेको देखिन्छ।

प्रकाशित: १३ चैत्र २०७८ ०२:२८ आइतबार

शुक्लागण्डकी नगरपालिका दल फेरबदलको लहड एमसिसि पास