राजनीति

क्लबको जग्गा विवाद प्रकरणः सांसदमाथि सांघातिक आक्रमण, हतियार खोस्दै असईमाथि कुटपिट

सडक विस्तार गर्ने कार्यक्रमले सर्लाही र रौतहटमा विभिन्न ठाउँमा विवाद हुने गरेको पाइएको छ। यसै क्रममा सर्लाहीमा शनिबार बिहान एक जना संघीय सांसदमाथि सांघातिक आक्रमण भएको छ भने असईमाथि कुटपिट तथा हतियार र गोली पनि खोस्ने घटना भएको छ।  

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलबास बजारमा बाटो विस्तारको विषयले गम्भीर रुप लिएको छ। बाटो विस्तार र स्थानीय क्लब भवनको निर्माणको विषयमा दुई पक्षमा विभाजित जनता समाजवादी पार्टी र नेकपा एमाले दुवै पक्षबीच टकरावको स्थिति उत्पन्न भएको हो।

शनिबार बिहान स्थानीय फुलजोर बाबा युवा क्लबको भवन निर्माण पहिलेकै स्थानमा गर्ने कि त्यहाँ नगरी अन्यत्र गर्ने विषयमा छलफल चलिरहँदा दुई पक्षबीच ठूलो विवाद भएको हो। फुलजोरमा सडक विस्तार हुँदा क्लबको आधा भवन भत्किइसकेको अवस्थामा रहेको छ। सोही स्थानमा भवन बनाउने किअर्को ठाउँमा भवन बनाउने भन्ने विषयमा दुई पक्षबीच विवाद रहेको थियो।

नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित मनोज देवकोटा पक्षधरले पहिलेकै ठाउँमा क्लब भवन निर्माण गर्ने बताइरहँदा दलबलसहित पुगेका जसपा नेपालबाट संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ।

संघीय सांसद साहले अर्को ठाउँमा क्लबको भवन निर्माण गर्नुपर्ने बताएपछि एमाले पक्षधर युवाहरुले आक्रमण गरेका हुन्। सांसद साहमाथि रडले आक्रमण भएको र टाउको तथा पिठ्युँमा चोट लागेको छ। प्रहार हुनासाथ सांसद साह बेहोस भएका थिए। जसपामा संसदीय दलको प्रमुख सचेतकसमेत रहेका सांसद साहलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ।

युवाहरुको आक्रमणमा परी सांसद साहका अंगरक्षक असई विनोद यादव पनि घाइते भएका छन्। असई यादवले बोकेको पेस्तोल र सात राउन्ड गोली पनि खोसिएको थियो तर प्रहरीको टोली घटनास्थल पुगेपछि पेस्तोल र गोली बरामद भएको छ। असई यादवको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सडकको विस्तार भइसकेको र सडक छेउमा नालाको निर्माणसँगै नक्सांकन भइसकेपछि बाँकी रहेको जमिनमा पहिलेकै ठाउँमा क्लबको भवन बनाउनु पर्ने युवाहरुको चाहना भएको फुलजोरका युवाहरुको भनाइ छ। तर साँसदले युवाहरुको चाहना विपरीत क्लबलाई नै अन्यत्र लैजान खोजेपछि विवादले उग्र रुप लिएको स्थानीयको भनाइ छ।

विवाद भएपछि घटनास्थल तनावग्रस्त बनेको थियो। घटनास्थलमा सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएका छन्। घटनास्थलको स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज देवकोटाले भने हुलाकी सडकको नाला निर्माण भइरहेको अवस्थामा भारतीय गाडी तथा भारतीय मोटरसाइकलमा आएका सांसद साहका मानिसहरुले नै एक्कासि आक्रमण गरेको बताएका छन्। आफूहरुमाथि आक्रमण भएपछि आफूहरु लुकेर ज्यान जोगाएको नगर प्रमुख देवकोटाको दाबी छ।

सांसद साहमाथि नाला निर्माण भइरहेको ठाउँमा आक्रमण नभई अन्यत्रै भएको भनाइ पनि नगर प्रमुख देवकोटाको रहेको छ।

यसैबीच सडक निर्माण र ढलानको विषयमा रौतहटको माधव नारायण नगरपालिकाको माधोपुर गाउँमा पनि शनिवार विहान विवाद भएको छ। दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि माधोपुरमा प्रहरी परिचालन भएपछि अवस्था साम्य भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७८ ०८:५८ शनिबार