राजनीति

ढिला भयो उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन्।

बुधबार किर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका हुन्।

नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै उनले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताए। महामन्त्री थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने बताए।

विगतमा आफ्नो पार्टी प्रतिपक्षमा हुँदा पनि आफूले शिक्षा तथा स्वास्थ्य समितिमा र प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पटक–पटक यस विषयमा कुरा राखेको भएपनि सुनुवाई नभएको बताए। वर्तमान सरकार बनिसकेपछि पनि निरन्तरको संसद अवरोधका कारण यस विषय प्राथमिकतामा पर्न नसकेको उनले उल्लेख गरे।

उनले नेपालको उच्च शिक्षालाई कतातर्फ लैजाने भन्ने विषयमा मुलुकको जेठो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयले नै नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा जोड दिए। महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बतए। विश्वविद्यालयमा जिम्मेवारीमा रहने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेका काम गर्न नहुने उनले बताए।

प्रकाशित: ९ चैत्र २०७८ ०८:३५ बुधबार

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन किर्तिपुर त्रिभुवन विश्वविद्यालय