राजनीति

कम्युनिष्ट पार्टीहरुबीच एकता हुन जरूरी छ: नेता भुसाल

नेकपा (एमाले) का नेता घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुकाबीचमा एकता गर्नुपर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रम गर्दै नेता भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुबीचमा सैद्धान्तिक र वैचारिक मतभिन्नता नरहेकाले पार्टी एकता गर्नुपर्ने बताएका हुन्। उनले विशेषगरी विगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट विभाजन भएको नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)बिचमा एकता हुनुपर्नेमा जोड दिए।  

नेता भुसालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न सके देशको लोकतन्त्र बलियो हुने पनि बताए। उनले विगतमा पार्टी विभाजन हुनुमा सबैको भुमिका छ भनेर आ-आफूले आत्मआलोचना गरेमा तत्कालका लागि स्थानीय तह निर्वाचनमा वाम गठबन्धन गर्न सकिने बताए। आसन्न स्थानीय तह निर्वाचनमा वाम गठबन्धन गरेर पार्टी एकताका लागि आधार तयार गर्नुपर्नेमा उनले जोड दिए।  

नेता भुसालले नेताहरुका स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बिगतको अनुभवहरुबाट बुझिसकिएको भन्दै आगामी एकता भने नेताहरुको नीजि स्वार्थमा टेकेर गर्नु नहुने बताए। 

प्रकाशित: ८ चैत्र २०७८ ११:०८ मंगलबार