राजनीति

दोषीलाई प्रहरीले उन्मुक्ति दिएर निर्दोषलाई फसाउन खोजेको भन्दै एमालेले दियो आन्दोलनको चेतावनी

गत बुधबार राति साढे आठ बजेतिर रौतहटमा भएको सवारी दुर्घटनाको चालकलाई प्रहरीले छाडेको भन्दै नेकपा एमाले रौतहटले आन्दोलनको चेतावनी दिएको छ। सवारी चालकलाई छाडेर सवारी धनीलाई प्रहरीले फसाउन खोजेको आरोप लगाउँदै एमाले रौतहटले घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ।  

गत बुधबार राति बा १७ च ६१६३ नम्बरको स्कारपिओ पिकअपको ठक्करले वृन्दावन नगरपालिका ६ हर्षाहास्थित सदरमुकाम गौरलाई महेन्द्रमार्गसित जोड्ने सहायक राजमार्गमा ठक्कर दिँदा ३५ वर्षका जितेन्द्र पटेल र २८ वर्षका हरिकुमार ठाकुरको मृत्यु भएको थियो। घटनामा प्रहरी चौकी हर्षाहाका असई अरविन्दकुमार यादव र जवान मुस्तफा अन्सारी पनि घाइते भएका थिए। अनियन्त्रित भई सवारी चलाउँदा ठूलो दुर्घटना भएको देखिएको थियो।

दुर्घटना लगत्तै प्रहरीले मौलापुर नगरपालिका घर भएका संजय पाण्डे र कुन्दन पाण्डेलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये कुन्दन पाण्डेले मापसे गरी सवारी चलाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भन्डारीले संचारकर्मीलाई जानकारी गराएका थिए।

बिहीबार मृतकका आफन्त विनोद राउत कुर्मीले जाहेरीमा सवारी चालक भनेर सवारी धनी नागेन्द्र साहको नाम उल्लेख गरी इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गराएका छन्। जाहेरीको आधारमा नै प्रहरीले कुन्दन पाण्डे र संजय पाण्डेलाई परेको बखत हाजिर हुने गरी जिम्मा जमानीमा छाडिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि भन्डारीले बताएका छन्।  

नेकपा एमाले रौतहटका अध्यक्ष त्रिभुवन साहले जारी गरेको विज्ञप्तिमा दुर्घटनामा परेको सवारी साधन मौलापुरका नागेन्द्र साहको नाममा रहेको भएपनि लामो समयदेखि मौलापुर नगरपालिकालाई भाडामा दिइएको जनाइएको छ। नगरपालिकाकै कर्मचारीलाई महोत्तरी पुर्‍याएर फर्कने क्रममा हर्षाहामा दुर्घटना भएको र दुर्घटना लगत्तै प्रहरीले चालक कुन्दन पाण्डेलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ।  

सवारी चालक भनि जाहेरीमा मृतकका आफन्तले उल्लेख गरेका सवारी धनी नागेन्द्र साह नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहका दाजु हुन्। एमाले रौतहटले जारी गरेको विज्ञप्तिमा प्रभु साहविरुद्ध रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र नेपाल प्रहरीका रौतहट प्रमुख एसपि विनोद घिमिरेले योजनाबद्ध रुपमा षड्यन्त्र गरिरहेकाले प्रजिअ शाही र एसपि घिमिरेलाई निलम्बन गरी घटनाको छानबिन गर्न गृह मन्त्रालयसित माग गरिएको छ।  

हर्षाहा घटनाको सत्यतथ्य छानबिन नभए अनिश्चितकालका लागि जिल्ला बन्द गर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

सवारी धनी नागेन्द्र साहले आफू सवारीमा नभएको दाबी समेत गरेका छन्।

एमाले नेता प्रभु साहले भने रौतहटको प्रशासन प्रमुख र प्रहरी प्रमुख आफूविरुद्ध षड्यन्त्र गरिरहेकाले आन्दोलनको विकल्प नरहेको बताएका छन्।

प्रकाशित: ५ चैत्र २०७८ १०:०२ शनिबार