गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनसम्मै गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन्। आज रुपन्देहीको सालझण्डीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले मुलुक अफ्ट्यारो अवस्थामा पुगेका बेला गठबन्धन गरेरै निकाश खोजिएकाले आगामी निर्वाचनसम्मै गठबन्धन कायम राख्नु पर्छ भन्नेमा काँग्रेस दृढ रहेको बताएका हुन्।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाँणले लोकतन्त्रको रक्षा गर्दै जनाधिकार रक्षाका लागि आगामी निर्वाचनमा काँग्रेसको जित आवश्यक रहेको पनि बताए। जिल्लाका नेता कार्यकर्तालाई काँग्रेसका मुल एजेण्डासहित जनताको घरघरमा पुग्न र उत्साहका साथ निर्वाचनमा होमिन निर्देशन समेत दिए। जनताको सहभागिता र सक्रियतामा काँग्रेसलाई अझ सवल र सक्षम बनाउनका लागि निर्वाचन महत्वपूर्ण अवसर भएको भन्दै उनले काँग्रेसका धारणा जनजन समक्ष पुर्याउन आग्रह गरेका हुन्।
राष्ट्रियता, लोकतन्त्र र समाजवाद काँग्रेसको मुल नीति तथा बिचार रहेको र त्यसबारे जनतालाई बुझाउनु पर्नेमा उनले जोड दिए। एमसिसी परियोजना मार्फत अमेरिकी सरकारबाट प्राप्त हुने ६० अर्ब रुपैयाँ जनताको पक्षमा खर्च गरिने भन्दै उनले काँग्रेसले त्यसलाई जनहितमा पुर्याउने बताए। त्यसै खेर गएको नदी, नालाको पानीबाट उत्पादन हुने बिजुली घरघरमा पुर्याउन ट्रान्समिसन लाइन निर्माण गरी उज्यालो नेपाल बनाउने दावी गरे। कोभिड १९ ले धरमराएको देशको अर्थतन्त्रमाथि उकास्न एमसिसी परियोजना सार्थक हुने दावी समेत गरे।
प्रकाशित: ३ चैत्र २०७८ १२:११ बिहीबार