नेकपा माआवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा अधिवेशन सकिएको झण्डै ४ महिनापछि बल्ल पदाधिकारीको टुङ्गो लागेको छ। प्रदेश कमिटिको बुधबार कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो।
प्रदेश अध्यक्ष बराल गुल्मीका हुन्। बरालले प्रदेश सभा सदस्यमा निर्वाचित यसअघिको सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेबारी निभाएका छन्। प्रदेश कमिटीको उपाध्यक्षमा दुर्गा थारु, नुमाकान्त न्यौपाने र बहादुर खत्री चयन भएका छन्। सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम,पार्वती विक,काशिराम यादव र कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन्।
करिब ४ महिनाअघि सम्पन्न भएको अधिवेशनमा प्रदेश कमिटी चयनमा विवाद भएपछि कमिटीमा रहने सदस्यहरुको नाम मात्रै टुङ्गाएर राखीएको थियो। प्रदेश अध्यक्षमा बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा सहमति जुटन नसकेपछि प्रदेश कमिटी घोषणा हुन सकेको थिएन।
बुधबार सम्पन्न लुम्बिनी प्रदेश कमिटीको बैठकलाइ सम्बोधन गर्दै नेता बर्षमान पुनले आगामी निर्वाचनमा लुम्बिनी प्रदेशलाइ माओवादीको आधार केन्द्रकोरुपमा बिजयी बनाउने दावी गरे। यसअघि पनि यो प्रदेश आधार इलाका रहेको दावी गर्दै उनले पुन बिजयी बनाउन एक ढिक्का भएर लाग्न नेता कार्यकर्तालाइ आग्रह गरे।
प्रकाशित: २ चैत्र २०७८ १३:४७ बुधबार