राजनीति

कांग्रेस र एमाले पैसाको बोरा बोकेर निर्वाचनमा जाने पार्टी हो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

शनिबार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरुले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए।

नेता खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाए। उनले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे। नेता खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले अघि बढ्ने बताए।

नेता खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढीरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताए। उनले देशमा निर्वाचनहरु सामान्यतःराष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानून नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गरे। सम्मानित नेता खनालले देशमा अझै पनि शोषण, अन्याय र अत्याचार, समाप्त नभएको दाबी गरे।

प्रकाशित: २८ फाल्गुन २०७८ ११:४० शनिबार

एकीकृत समाजवादी नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल कांग्रेस र एमाले इलाम–काठमाडौं सम्पर्क मञ्च