राजनीति

कर्णाली प्रदेश सांसद बिष्टले छाडे माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन्।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए। उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए।

उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए। पार्टी भित्र रचनात्मक आलोचनामार्फत् पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दापनि सफल हुन नसकेको उनले बताए।

उनले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए। माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनले आरोप लगाए।

 

प्रकाशित: २७ फाल्गुन २०७८ १३:३० शुक्रबार