राजनीति

मतपत्र र चिह्नको रङ हरियो बनाइँदै

निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र र निर्वाचन चिन्हको रङ परिवर्तन गरेर हरियो बनाउन लागिएको जनाएको छ।

बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनका लागि मतपत्र डिजाइन तथा रङ तय गर्ने अधिकार आयोगमा रहेको बताएका थिए।

निर्वाचन चिह्न हरियो राख्ने निर्णय प्राविधिक भएको तर्क गर्दै उनले भने, ‘मतगणना गर्न सजिलो होस् भनेर मतपत्र, चुनाव चिन्ह र स्वस्तिक छापको रङ फरक फरक गर्न लागिएको हो। मतपत्रको रङ हरियो बनाउने निर्णय नितान्त प्राविधिक विषय भएकाले विभिन्न सरोकारवालाको सुझावका आधारमा यो निर्णय गरिएको हो। कसैलाई अन्यथा लागेको भए आयोग यसबारे स्पष्ट पार्न सदैव तत्पर छ।’

आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न र विवरण हरियो ‘एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन’ मसीले छपाइ गर्ने निर्णय गरेको थियो। ०७४ सालमा भएको स्थानीय निर्वाचनमा आयोगले मतपत्र, निर्वाचन चिह्न तथा मतदानको संकेत गर्ने स्वस्तिक छापको रङ एकै रङ (निलो) प्रयोग गरेको थियो। ‘०७४ सालमा प्रयोग गरेको मतपत्रमा दलहरूका निर्वाचन चिह्नको रङ मतपत्रमा निलो राखिएको थियो,’ उनले भने, ‘स्वस्तिक छापको रङ पनि निलो थियो।

त्यसैले चिह्न र स्वस्तिक छापमा प्रयोग गर्ने रङ एकै पर्न जाँदा गणनामा अप्ठ्यारो भयो। स्थानीय तह निर्वाचनमा स्ट्याम्प चोपेपछि सात पटकसम्म चिह्नमा छाप हान्नु मिलेपनि पछिल्ला चिह्नमा मत संकेत मधुरो हुँदै जाँदा गणना गर्दा बत्तीको उज्यालोमा पहिचान गर्न गाह्रो भएकोले रङमा भिन्नता गर्न लागेका हौं।’

रङमा भिन्नता (कलर कन्ट्रास्ट) गर्ने उद्देश्यले आयोगले निर्वाचन अधिकृत तथा आयोगबाट अनुगमनमा खटिएका अधिकृतहरू र गणनामा खटिएका कर्मचारी तथा विभिन्न सरोकारवालाले दिएको सुझावको आधारमा निर्वाचन चिह्न हरियो राख्ने निर्णय गरेको उनले जानकारी गराएका थिए।

आयोगले गरेको निर्णय पुनर्विचार गर्नेबारे उनले भने, ‘मतपत्रको रङ कस्तो राख्ने, कस्तो डिजाइन गर्ने भन्ने अधिकार आयोगसँग छ। किन रङ परिवर्तन गरियो भन्ने कुरामा अन्यथा सोच्न आवश्यक छैन। भोलि मत गणनालाई सहजता होस् भनेर यस्तो निर्णय गरेको हो। यसबारे औपचारिक रूपमा आयोगलाई जानकारी आइसकेपछि त्यसलाई कसरी छलफलमा लैजाने र अन्य निर्णय गर्नुपरे पनि त्यो आयोगको क्षेत्राधिकारभित्र रहन्छ।’

उनले निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग तत्कालका लागि सहज नभएकाले विदेशमा रहेका नेपालीलाई मतदानको सुविधा दिन व्यावहारिक रूपमा कठिनाइ हुने जनाएका थिए। हाल देशभरका विभिन्न वडादेखि प्रत्येक जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमाथि दाबी विरोधको प्रक्रिया चलिरहेको छ। सोलगत्तै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी गरेको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्र र चिह्नको रङ हरियो राख्ने आयोगको निर्णयप्रति आपत्ति जनाएका थिए। उनले हरियो रङले रूखको निर्वाचन चिह्न मात्र देखिने भएकाले आफूलाई त्यो मान्य नभएको तर्क गरेका थिए।

प्रकाशित: २७ फाल्गुन २०७८ ००:४९ शुक्रबार

निर्वाचन आयोग