नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्न सक्ने बताएका छन्।
बिहीबार केन्द्रीय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउने क्रममा नेता तुलाधरले यस्तो बताएका हुन्। उनले गठबन्धनमा नेपाली काँग्रेस सहभागी नबने काँग्रेस स्वयंलाई घाटा हुने बताए। नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए।
उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि आगामी निर्वाचनमा काँग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाए। नेता तुलाधरले नेपाली काँग्रेसका सभापति एवं शीर्ष नेताहरु भने गठबन्धनसहित आगामी निर्वाचनमा जाने पक्षमा रहेको बताए।
नेता तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनावमात्रै नभइ प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताए। नेता तुलाधरले चुनाव प्रचारप्रसारका लागि ५ हजारको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताए।
प्रकाशित: २६ फाल्गुन २०७८ १०:५६ बिहीबार