नेपाली कांग्रेस सिरहाको सभापतिमा संस्थापन पक्षका रामचन्द्र यादव निर्वाचित भएका छन्। यादवले १ हजार ४२६ मत ल्याएका छन्।
उनका प्रतिद्वन्द्वी इतर पक्षका उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त मात्र प्राप्त गरे। सोमबार भएको निर्वाचनमा २ हजार ४७५ मत खसेको थियो। १६० मत बदर भएको निर्वाचन अधिकृत संजीव लामाले बताए। निर्वाचनमा संस्थापन पक्षको प्यानल वीजयी भएको छ।
यता, संस्थापन इत्तर पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै समानान्तर जिल्ला कार्य समिति घोषणा गरेको छ। गत सोमबार भएको निर्वाचनमा संस्थापन पक्षले धाँधली गरेको आरोप लगाउँदै मतदान बहिष्कार गरेको संस्थापन इतरको समूहले सभापतिका प्रत्यासी रामसुन्दर चौधरीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेको हो।
सिरहा जिल्ला समन्वय समितिमा बुद्यबार इत्तर पक्षको बैठक बसेर चौधरी नेतृत्वको प्यानललाई नै कार्य समिति घोषणा गरेको हो। जिल्ला कार्यसमिति घोषणा गर्दै निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णय समेत गरेको छ।
दुई तिहाई प्रतिनिधि आफ्नो पक्षमा भएपनि रामचन्द्र यादवले प्रहरीको आडमा धाँधली गरेर निर्वाचित भएको चौधरी पक्षको आरोप छ। इत्तर पक्षले यो चुनावलाई रद्द गरेर नयाँ निर्वाचन सिरहामा गर्नुपर्ने माग समेत गरेका छन्। निर्वाचन अधिकृत र निर्वाचन केन्द्र परिवर्तण गरेर नयाँ निर्वाचन नभएसम्म समानान्तर समिति कायम रह्ने इत्तर पक्षको अडान छ।
चुनावमा धाँधली भएको भन्दै चौधरी पक्षले मतदान चलिरहेकै बेला सोमबार साँझ ६ बजे नै मतदान बहिष्कार गरि नारा जुलुस गर्दै विरोधमा उत्रिएका थिए। उनीहरुले निर्वाचन बदरको माग समेत गरेका थिए।
प्रकाशित: २५ फाल्गुन २०७८ १५:१० बुधबार