राजनीति

आजको लडाई जनादेश र परमादेशी बीचको होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लडाई जनादेशी र परमादेशी बीचको भएको बताएका छन्। नेकपा एमाले गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘आजको लडाई जनादेशी र परमादेशी बीच छ।’  

परमादेशबाट बनेको वर्तमान गठबन्धन असत्य शक्ति भएको उनले आरोप लगाए। महाभारतमा भएको कौरव र पाण्डव बीचको लडाईको दृष्टान्त दिदै ओलीले भने, ‘आज कांग्रेस नेतृत्वको गठबन्धनले असत्य शक्तिको प्रतिनिधित्व गरेको छ, अनि हामी एमालेले सत्य शक्तिको प्रतिनिधित्व गरेका छौ । त्यसैले आज सत्य र असत्य शक्ति बीचको लडाईं भइरहेको छ, जित सत्यको हुने निश्चित छ।’ उनले असत्य शक्तिको सामना गर्न कार्यकर्तालाई निर्देशन समेत दिए।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले राष्ट्रको सार्वभौम सत्ताको रक्षा एमालेले मात्र गर्ने बताए। ‘एमालेले सार्वभौम सत्ताको रक्षा गर्ने नीति नै लिएको छ, यसको रक्षा गर्नसक्ने एमालेले मात्र हा,े’ उनले भने।

अध्यक्ष ओलीले महिलाले प्राप्त गरेको जिम्मेवारीलाई ईमान्दारी र सफलतापूर्वक गरिरहेको बताए। नेपालमा महिलाको शक्ति बढिरहेको भन्दै यसमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

प्रकाशित: २४ फाल्गुन २०७८ ०८:५० मंगलबार

एमालेका अध्यक्ष केपी शर्मा ओली