राजनीति

पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पूर्वसचिवसमेत रहेका श्रेष्ठले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारले श्रेष्ठसँग ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रूपैयाँ बिगो माग दाबी गरेको छ। २०२६ चैतमा शिक्षक सेवामा प्रवेश गरेका उनी २०३६ मा निजामती सेवाको शाखा अधिकृत भएका थिए। त्यसपछि उपसचिव, सहसचिव हुँदै उनले २०६४ सालमा सचिव पदबाट अवकाश पाएका थिए।

सार्वजनिक सेवामा प्रवेश गरेपछिको आर्थिक अवस्थाको विश्लेषण गर्दा श्रेष्ठले ६ करोड ९० लाख १६ हजार ६ सय २७ रूपैयाँ आर्जन गरेको अख्तियारले जनाएको छ। त्यसमध्ये खर्च कटाएर ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रूपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको आरोपपत्रमा उल्लेख छ।

निजामती सेवाबाट अवकाश प्राप्त उनी खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री थिए ।

प्रकाशित: १६ फाल्गुन २०७८ ००:५० सोमबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोग