राजनीति

एकीकृत समाजवादीले एमसीसी संसदमा टेवल गर्न दिने

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने संकेत गरेको छ। शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो।

तर, यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान भने यथावत रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ।

त्यसबारेमा जनताको बीचमा बहस गर्नुपर्ने र जनप्रतिनिधिहरुलाई पनि यसबारे जानकारी दिनुपर्ने सो पार्टीको बुझाई छ। नेकपा (एकीकृत समाजवादी)ले सो सम्झौताबारे अध्ययन गर्न झलनाथ  खनाल नेतृत्वको कार्यदल नै गठन गरेको थियो। कार्यदलले पनि बैठकमा यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने सुझाव दिएको प्रवक्ता खतिवडाले बताए।

प्रकाशित: ७ फाल्गुन २०७८ १०:५५ शनिबार

एकीकृत समाजवादी एमसीसी संसदमा टेवल