राजनीति

आसन्न निर्वाचनमा उम्मेदवार छनौट गर्न कांग्रेसमा छलफल

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट कुन प्रक्रिया अपनाएर उम्मेदवार चयन गर्ने भन्ने विषयमा नेपाली कांग्रेस भित्र छलफल सुरु भएको छ।

सोमबार आयोजित जिल्ला कार्य समितिको बैठकमा पनि कस्ता व्यक्तिलाई टिकट दिने, कुन–कुन मापदण्ड बनाएर उम्मेदवार छनौट गर्ने भन्ने विषयमा छलफल भएको जिल्ला सचिव किशोरजंग थापाले बताए।

‘कुन मापदण्ड बनाउने भन्ने विषयमा छलफल भएको हो’ जिल्ला सचिव थापाले भने ‘तर यस बारेमा कुनै निर्णय भएको छैन।’ सकेसम्म सर्वसम्मत टिकट दिने, नभएर वडा, पालिका स्तरमा अध्ययन गरेर जित्ने उम्मेदवार चयन गर्ने विषयमा छलफल केन्द्रित रहेको उनले बताए।

सरकारले २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक दलहरु बिच उम्मेदवार चयनका बारेमा आन्तरिक चर्चा हुन थालेको छ। चोक र चिया पसलहरुमा पनि उम्मेदवारको चर्चा सुनिन्छ। 

कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने ‘नेता प्रति नभई जनताप्रति फर्किएकाहरुलाई टिकट दिने हो।’ नागरिकको पक्षमा काम गर्ने, कार्य सम्पादनमा सक्षम, पार्टीको नीति, सिद्धान्तलाई ध्यान दिने उम्मेदवार चयन गरिने उनले बताए। बैठकले निर्वाचन लक्षित पार्टीको कार्यक्रम तय गर्ने, महाधिवेशन प्रतिनिधि, क्षेत्रिय प्रतिनिधि सबैलाई गाउँगाउँमा खटाउने निर्णय गरेको छ।  

यस्तै गत निर्वाचनमा बिजयी उम्मेदवार सँग पाँच वर्षमा गरेका कामको  प्रगती बारे जानकारी लिने कांग्रेसले जनाएको छ। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका वडा देखि क्षेत्रिय समितिका पदाधिकारी, पार्टीका भाृत तथा सुभेच्छुक संगठन सँग छलफल गर्ने कार्यक्रम तय भएको सचिव थापाले बताए।

फागुन ७ देखि १० गते छलफल तथा चुनावी ऐजेण्डाको बारेमा कांग्रेसले बैठक राखेको जनाएको छ। ‘कांग्रेस गोरखाको घोषणा पत्र तयार गर्ने निर्णय पनि  गरेका छौँ’ सचिव थापाले भने ‘अन्य दलहरु सँग छलफलका लागि सभापतिलाई जिम्मेवारी दिइएको छ।’

कोषाध्यक्ष र प्रवक्ता चयन  

नेपाली कांग्रेस गोरखाले कोषाध्यक्षमा बलराम खड्का र प्रबक्तामा भगबानबाबु मास्केलाई चयन गरेको छ। जिल्ला कार्य समिति गोरखाको बैठकले पालुङटार १०का खड्कालाई कोषाध्यक्ष र गोरखा नगरपालिका ६ का मास्केलाई प्रबक्तामा चयन गरेको सचिव किशोरजंग थापाले जानकारी दिए। दुबै नेपाली कांग्रेसको निर्वाचित जिल्ला सदस्य थिए।

प्रकाशित: २ फाल्गुन २०७८ १४:२५ सोमबार