राजनीति

अतिक्रमित जग्गा फिर्ता ल्याउन नसके पदमा बस्दिनँः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राज्यको दोहन हुँदै आएको सम्पत्ति सरकारका नाममा ल्याएरै छाड्ने बताएका छन्।

उनले आफ्नो मन्त्रालयअन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने स्पष्ट पारे।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मन्त्रालयमातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन्। ‘राज्यको दोहन भएको सम्पति फिर्ता ल्याउनु मेरो कर्तव्य हो,’ उनले भने, ‘विगतदेखि नै सरकारी जग्गामा अतिक्रमण भइराखे पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको छ। के राष्ट्रका लागि केही गर्न हामी अघि बढ्न सक्दैनौं?’

पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गा अतिक्रमण भइरहेको जानकारी दिँदै मन्त्री आलेले अतिक्रमण भएको जग्गा फिर्ता गराएरै छाड्ने दृढता पनि व्यक्त गरे। पदमा बसुन्जेल इमानदारीपूर्वक देशका लागि काम गर्ने उनको भनाइ थियो। 

उनले सरकारी नियुक्ति पाएका कर्मचारीले अन्य व्यक्तिसँग बसेर सेटिङ गरेको भेटिए सह्य नहुने चृतावनी दिए। नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको बताउँदै उनले अहिले मन्त्रालय कर उठाउन लागेको जानकारी दिए।

आफूले राम्रो काम गरिरहे पनि केही मिडिया भने आफूविरुद्ध लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे। उनले मन्त्रालयमा परिवर्तन देखिनेगरी काम गर्न निर्देशन पनि दिए। मन्त्री आलेले पुँजीगत खर्च वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए। पर्यटन मन्त्रालयको पुँजीगत खर्च न्यून छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिनेगरी काम गर्न उनले निर्देशन दिए।

प्रकाशित: २९ माघ २०७८ ०४:४३ शनिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले