राजनीति

कांग्रेसका भ्रातृ संगठन निष्क्रियः महाधिवेशन अनिश्चित

आवधिक महाधिवेशन नहुँदा निष्क्रियप्रायः बनेका नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको केन्द्रीय समितिको म्याद थप गर्ने कि महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने भन्ने विषयमा पार्टीका पदाधिकारी छलफलमा जुटेका छन्।

पार्टीको बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूको नेतृत्वका विषयमा छलफल गर्ने अजेन्डा तयार गरेसँगै पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन्।

सभापति शेरबहादुर देउवाबाहेक अरु पदाधिकारी मंगलबार केन्द्रीय कार्यालय सानेपामा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई कसरी क्रियाशील बनाउने भन्ने विषयमा छलफलमा जुटे। उनीहरूले बुधबार सभापति देउवासहित फेरि छलफलमा बस्ने तयारी गरेका छन्।

पदाधिकारीले अहिलेकै अवस्थामा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई राख्दा आगामी निर्वाचनमा पार्टीलाई नकारात्मक असर पर्ने निष्कर्ष निकालेका छन्। वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने घोषणा भइसकेको र त्यसपछि पनि मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जुट्ने भएकाले तत्काल भ्रातृ तथा शुभेच्छुक संगठनको महाधिवेशन गर्न कठिन हुने कतिपय पदाधिकारीको बुझाइ छ।

महाधिवेशन गर्न नसकिने अवस्थामा अहिलेका तदर्थ समितिहरूलाई नै तीन तहको निर्वाचनसम्म निरन्तरता दिएर महाधिवेशनमा पठाउने वा नयाँ तदर्थ समिति बनाएर जानेसहितका विकल्पमा पदाधिकारीहरू छलफलमा जुटेका छन्। ‘म्याद सकिएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरू र अधिवेशन हुन बाँकी जिल्लाका विषयमा कसरी अघि बढ्ने भन्नेमा पदाधिकारीहरूबीच अनौपचारिक छलफल सुरु भएको छ,’ सहमहामन्त्री बद्री पाण्डेले भने, ‘तत्काल महाधिवेशनमा लैजाने, रिक्त रहेका पदपूर्ति गरेर संगठनलाई चलायमान बनाउने, नयाँ तदर्थ समिति गठन गरेर महाधिवेशनमा पठाउनेलगायतका विकल्प र प्रस्तावमा सकारात्मक छलफल सुरु भएको छ।’

यस्तै गर्नुपर्छ भन्नेमा पदाधिकारी ठोस निष्कर्षमा पुगिनसकेको जानकारी दिँदै पाण्डेले भने, ‘कार्यसम्पादन समितिको बिहीबार बस्ने बैठकमा निष्कर्षमा पुग्न नसकिए पनि छलफललाई निरन्तरता दिएर भ्रातृ तथा शुभेच्छुक संगठनका विषयमा निष्कर्षमा पुग्नुपर्छ भन्नेमा हामी सबै छौं।’

१३औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि देउवाले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दलसहितका केही भ्रातृ तथा शुभेच्छुक संगठनको अधिवेशन गराएका थिए।

तर पार्टी नेतृत्वमा पुग्ने र टिक्ने जोडघटाउमा भ्रातृ संगठनको नेतृत्व आफूअनुकूल बनाउने नेताहरूबीचको हानाथापले भ्रातृ तथा शुभेच्छुक संगठन लथालिंग बन्न पुगेका छन्। निष्क्रियप्रायः रहेका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघसहितले महाधिवेशन गर्ने समय गुजारिसकेका छन्।

महाधिवेशन नभएर तदर्थ समिति गठन भएका नेपाल विद्यार्थी संघसलगायतका भ्रातृ तथा शुभेच्छुक संगठनले महिनौं हुँदा पनि पूर्णता पाएको छैनन्। बरु भ्रातृ संगठनको अध्यक्षका रुपमा संगठन सञ्चालन गर्न असफल अधिकांश पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पार्टीको तल्लो निकायको नेतृत्व गरेको व्यक्ति माथिल्लो निकायको उम्मेदवार भएमा तल्लो पद स्वतः रिक्त हुने विधानको व्यवस्था भए पनि पार्टी नेतृत्वको आशीर्वाद प्राप्त हुँदा उनीहरू दोहोरो भूमिकामा सक्रिय छन्।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्। नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्मा र नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीलाई पनि सभापति देउवाले पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

नेपाल आदिवासी जनजाति संघका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर गुरुङले महाधिवेशन गर्न पार्टी नेतृत्वले असहयोग गरेको भन्दै राजीनामा गरेका छन्। संघको विधान स्वीकृत नभएको र त्यही कारण समयमा अधिवेशनलगायत गतिविधि गर्न नपाएको गुनासो गर्दै उनले राजीनामा दिएका हुन्। संघको विधान २०७४ फागुन २७ मै पार्टीलाई बुझाए पनि स्वीकृत भएको छैन। संघको अधिवेशन २०६४ सालदेखि हुन सकेको छैन।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल किसान संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघसहितको हालत पनि नेपाल आदिवासी जनजाति संघको जस्तै छ। शुभेच्छुक संगठनहरूको अवस्था पनि भ्रातृ संगठनको भन्दा कम छैन। कांग्रेसको मूल नेतृत्व मात्र होइन, पदाधिकारी र केन्द्रीय समितिमा पनि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलबाटै पार्टी राजनीतिमा आएका नेताहरूको बाहुल्यता छ।

तर उनीहरूको ध्यान भ्रातृ तथा शुभेच्छुक संगठनको आवधिक महाधिवेशन गराउने र तिनलाई चलायमान बनाउनेभन्दा निकट व्यक्तिलाई टीकार लगाइदिएर त्यहाँ पुर्‍याउनेमा मात्र केन्द्रित छ। जसले गर्दा भ्रातृ संगठनहरूको महाधिवेशन अनिश्चित बन्दै गएको छ।

प्रकाशित: २६ माघ २०७८ ००:४६ बुधबार

आवधिक महाधिवेशन नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन