नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले एमसीसीबारे सरकारले आफ्नो स्पष्ट धारणा दिनुपर्ने बताएका छन्। एमसीसीबारे सत्ता गठबन्धनको भूमिकाले अन्तर्राष्ट्रिय जगतमा नेपालप्रतिको विश्वास कमजोर बनाएको भन्दै उनले सरकारको स्पष्ट धारणा छिटो आउनु पर्ने बताएका हुन्।
प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै नेता ज्ञवालीले सत्ता गठबन्धनले यसलाई स्वीकार गर्ने या नगर्ने भनेर स्पष्ट जवाफ दिनु पर्नेमा जोड दिएका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो भूमिकाले समस्या सिर्जना भएको भन्दै उनले एमसीसी ८ वर्ष लगाएर नेपाल अफैंले छनौट गरेको परियोजना भएको उल्लेख गरे।
एमसीसी संसदमा छलफल गर्न पाउनु पर्ने भन्दै उनले संसदमा टेबल भएपछि मात्रै एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने बताए। ‘हामीले चाहेर यो पारित हुने हैन। एमसीसी पारित गर्ने मत सरकारसंग छ, त्यसैले सदनमा नल्याउँदा सम्म हामी बोल्दैनौं’, नेता ज्ञवालीले भने। सभामुखले यसबारे अनावश्यक राजनीति गरेको अरोप पनि उनले लगाए। नेता ज्ञवालीले आफ्नो पार्टीको सरकारले अन्तर्राष्ट्रिय समझदारी कार्यान्वयन गर्न इमान्दारिता देखाउन खोजेको दावी गरे।
नेता ज्ञवालीले एमालेको दवावका कारण सत्तागठबन्धनले जेठ ४ मा स्थानीय चुनाव गराउने भनेपनि मिति घोषणा नगरेको भन्दै अशंका व्यक्त गरे। स्थानीय तहको निर्वाचनको बिषयमा विवाद आवश्यक नभएको भन्दै उनले तत्काल मिति घोषणा गर्न माग गरे। स्थानीय चुनाव भएपछि संघ र प्रदेशको चुनाव जुनसुकै बेल गर्न एमाले तयार रहेको बताए।
प्रकाशित: २३ माघ २०७८ १४:२२ आइतबार