राजनीति

नेतृत्वलाई पौडेलको प्रश्नः एक्लै चुनाव लड्ने आँट छ?

नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा स्थापना गरेको प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेल। तस्बिरः नागरिक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वर्तमान गठबन्धनविरुद्ध बोल्ने नेताहरुमाथि जाई लागेका छन्। कांग्रेस गण्डकी प्रदेश समितिले पोखरा महानगरपालिका–३ मा स्थापना गरेको प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले वर्तमान पाँचदलीय गठबन्धन तोडेर आगामी तीनतहको चुनाव एक्लै लड्छु भन्ने नेताहरुमाथि जाई लागेका हुन्।

एक्लै चुनाव लडिन्छ भन्ने पार्टीका नेताहरुको गज्जबको भाषण सुन्ने गरेको भन्दै उनले भने, ‘ठीक छ एक्लै लडौं तर एक्लै आँट्नका लागि एक्लै लड्ने क्षमता पनि बनाऔं।’ वरिष्ठ नेता पौडेलले भर्खरै सम्पन्न राष्ट्रियसभाको चुनावमा एक्लै लडेको भए के हालत हुन्थ्यो भनेर नेताहरुलाई प्रश्नसमेत गरेका छन्। राष्ट्रिय सभाको चुनावमा भएको तीन सिट पनि गुमाउन लागेको कांग्रेसले गठबन्धनको बलमा ६ सिट पाएको कुरालाई नबिर्सन उनले आग्रह गरे।

कतिपयले राष्ट्रियसभाको चुनावसम्मका लागि मात्र हो गठबन्धन भनेको कुरा आफूले सुनेको भन्दै उनले त्यसमा पनि असन्तुष्टि जनाए। ‘राष्ट्रियसभाको चुनाव पछि गठबन्धनको इतिश्री भन्ने पनि सुने, के त्यसपछि कांग्रेस इतिश्री हुने हो?’, उनले प्रश्न गरे। उनले कांग्रेसलाई आगामी चुनाव लड्नका लागि मात्रै हो कि जित्नका लागि पनि चुनाव लड्ने हो भनेर प्रश्नसमेत गरेका छन्। गठबन्धन तोडेर कांग्रेस कहाँ जाने हो? भन्दै उनले भने, ‘आगामी चुनाव जित्ने हो कि हार्ने हो कांग्रेसले? कांग्रेसजस्तो पार्टीले चुनाव लड्नका लागि मात्रै लड्ने हो कि जित्नका लागि पनि लड्ने हो?’

पौडेलले कांग्रेसको हिस्सा ३० प्रतिशत मात्रै भएकाले वर्तमान परिस्थिति बुझ्नुपर्ने बताए। गठबन्धन तोडिए एकीकृत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमालेसँग मिल्न सक्नेतर्फ आशंका व्यक्त गर्दै उनले भने, ‘आजको यथार्थ भनेको कुल मतदाता मध्ये ३० प्रतिशत हो हाम्रो पार्टी कांग्रेससँग भएको मत। ७० प्रतिशत मत कांग्रेस भन्दा बाहिर छ। ७० प्रतिशतसँग ३० प्रतिशतले एक्लै हिंड्छु भन्यो भने के हुन्छ? त्यो ७० प्रतिशत एकै ठाउँमा गयो भने के हुन्? हामी एक्लै लड्छौं भनेपछि त्यो बेला बाध्य भएर सबै एकैठाउँमा पुगे भने के हुन्छ?।’ उनले जहाँ कांग्रेस एक्लै जित्न सक्छ त्यहाँ एक्ला एक्लै लड्ने र जहाँ एक्लै लडेर जित्न सकिन्न त्यहाँ गठबन्धन गर्नुपर्ने बताए।

‘जहाँ सर्लक्कै जित्न सकिन्छ त्यसमा किन अरुलाई भाग दिन पर्‍यो? त्यहाँ पर्दैन। तर जहाँ आफ्नो स्थिति कमजोर छ, गठबन्धनमा आबद्ध अर्को दल पनि कमजोर छ। अनि दुईवटा मिलेपछि जितिन्छ भने किन नमिल्ने?,' उनले भने।

पौडेलले अहिलेको निर्वाचन प्रणालीका कारण कसैको पनि एकल बहुमत आउन सक्ने नभएकाले मिलेर जानुको विकल्प नभएको बताए। उनले कांग्रेस नेताहरुलाई संविधान पढ्न, बुझ्न र आत्मसाथ गर्न आग्रह गरे। राजनीति गर्न राजनीतिक बुद्धिमानी आवश्यक पर्ने भन्दै उनले भने, ‘संयुक्त सरकारको संस्कृति संविधानले अनिवार्य गरेको छ। त्यसै बोलेर क्रान्तिकारी, प्रगतिशिल र अनि ताली खाएर हिंड्ने? त्यो चाहिँ हुँदैन। यो राजनीतिक बुद्धिमानी (पोलिटिकल विस्डम) हुँदैन। राजनीति गर्न राजनीतिक बुद्धिमानी चाहिन्छ। त्यो अहिलेको आवश्यकता हो भनेर म मेरा मित्रहरुलाई सम्झाउन चाहन्छु।’

पौडेलले कांग्रेसलाई बचाउन दुईवटा कार्य गर्नुपर्ने बताए। आफू जवाफ दिने ठाउँमा नभएको बताउँदै उनले भने, 'अहिलेको चुनौतिको पहाड पार गर्नका लागि नेपाली जनतालाई आशा र उत्साह जगाउन कांग्रेसले के सन्देश दिने हो? र कांग्रेसभित्र अन्तर्घात झाँगिएको छ। यो अन्तर्घातबाट कांग्रेसलाई कसरी बचाउने हो। यसको समाधानको खोजी नेतृत्वले गर्नुपर्छ।‘

इतिहासका रछ्यानमा फ्याँकिएका तत्वहरुले अहिले गणतन्त्र, लोकतन्त्र, संविधान, संघीयता लगायत माथि गिज्याईरहेको पौडेलले टिप्पणी गरे। पूर्व राजसंस्थामाथि संकेत गर्दै उनले भने, ‘हिजो रछ्यानमा फ्याँकिएकाहरुले आज कहाँबाट भुतहरु झैं उठेर गणतन्त्र, लोकतन्त्र, संविधान, संघीयता, राजनीतिक पार्टीहरुलाई गिज्याउने? यसले देशलाई कहाँ लान्छ? ३० वर्षको शासन हेरे पुग्छ।’

राजाले लोकतन्त्र नमानेपछि जनतालेपनि राजतन्त्र नचाहने भनेर विपीले भनेको उनले बताए। उनले तत्कालीन राजा कांग्रेसलाई सिध्याउन लागेको समेत आरोप लगाए। त्यसैको परिणाम स्वरुप माओवादी मौलाएको भन्दै उनले भने, ‘माओवादीलाई राजाले जन्मायो, ईण्डियाले हुर्कायो।’

प्रकाशित: २३ माघ २०७८ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App