राजनीति

काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार छु: रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रश्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन्। उनले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए।

सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए। उनले सत्ता महागठबन्धन लोभी पापीहरुको झुण्ड भएको र संसदको काम कारबाहीलाई सुचारु रुपमा चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताए।

सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए। उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए।

प्रकाशित: २० माघ २०७८ ०८:१२ बिहीबार