राजनीति

लुम्बिनी प्रदेशः फेरिएला सरकारको नेतृत्व

आलोपालो सरकार चलाउने कांग्रेस र माओवादीको पूर्वसहमति बमोजिम लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुँदा बाँकी अवधि आलोपालो सरकार चलाउने सहमति कांग्रेस र माओवादीबीच भएको थियो।

यही सहमति बमोजिम तत्कालीन एमाले नेतृत्वको सरकार ढलेको थियो। कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व फेरबदल हुनुपर्ने प्रस्ताव राखिसकेका छन्। उक्त सहमतिअनुसार वर्तमान सरकारमा रहेको माओवादी नेतृत्व आगामी फागुन २ गतेसम्म मात्रै कायम रहने भनिएको थियो।

कांग्रेसले सत्ता नेतृत्वको बहस सुरु गरिसकेको भए पनि माओवादी भने सरकारको नेतृत्व छोड्न तयार देखिएको छैन। उसले यसलाई मौखिक सहमती मात्रै भएको भन्दै कुनै सरकारको नेतृत्व फेरबदलको सहमति लिखित रूपमा नभएको दाबी गर्छ। ‘त्यो मौखिक सहमति मात्रै हो,’ माओवादीका एक सांसद तथा मन्त्रीले भने, ‘उक्त मौखिक सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तनको कुरा शोभनीय हुँदैन।’  

अहिलेको सत्ता नेतृत्व छोड्ने पक्षमा नरहेको माओवादीले सत्ता परिवर्तनको प्रयास थालिए सरकारमा विपक्षी समूह हाबी हुने चेतावनी दिएको छ। उसले कांग्रेसबाहेक सरकार समर्थित दल तथा सांसदहरू सत्ता नेतृत्व परिवर्तनको पक्षमा नरहेको भन्दै यसले ठूलो असर पार्ने दाबी गर्छ। ‘कांग्रेसबाहेक सरकार समर्थित अन्य सबै दल तथा सांसद अहिलेकै सरकारलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छन्,’ ती मन्त्रीले भने, ‘अहिले सरकार नेतृत्व फेरबदलको प्रयास थालिए यसको असर ठूलो पर्न जान्छ।’

उनका अनुसार जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद सत्ता परिवर्तनको विपक्षमा छन्। गठबन्धनबीचमा सत्ता नेतृत्वको परिवर्तनका विषयमा निर्णय भए मात्रै नेतृत्व छोड्ने अन्यथा माओवादी सरकारको नेतृत्वबाट पछि हट्ने हुने सम्भावना देखिएको छैन। ‘केन्द्रीय तहमा के सहमति हुन्छ? त्यहीअनुसार अगाडि बढ्ने कुरा हुन्छ,’ उनले भने ‘अन्यथा प्रदेश तहमै दलीय रणनीति बन्छ।’  

कांग्रेसका एक सांसदका अनुसार सत्ता परिवर्तनका विषयमा कांग्रेसभित्र औपचारिक बहस तथा छलफल भइसकेको त छैन, तर संसदीय दलका नेता तथा प्रमुख सचेतकले भने पूर्वसहमतिअनुसार सत्ताको नेतृत्व परिवर्तनको प्रसंग उठाइरहेका छन्।

तर, यी सांसदले अहिले केन्द्रीय तहमा विकसित राजनीतिको परिणाम आए मात्रै यो विषयको बहस थालनी हुनुपर्ने बताए। ‘आधा आधा सरकारको नेतृत्व गर्ने भन्ने सहमति त्यो बेला भएको हो,’ कांग्रेसका ती सांसदले भने, ‘तर अहिले नेपालको राजनीति फरक ढंगको बहसमा छ, यसर्थ केन्द्रीय राजनीतिले दिने निष्कर्षपछि मात्रै प्रदेश सरकार नेतृत्वको बहस थालिनु पर्छ जस्तो मलाई लाग्छ।’

तर कांग्रेसका संसदीय दलका नेता कनौडियाले भने सत्ता नेतृत्व परिवर्तनको विषयमा कुनै समस्या नहुने दाबी गर्छन्। उनले भने, ‘हाम्रो पुरानो भद्र सहमतिअनुसार नै सत्ता नेतृत्व परिवर्तन हुन्छ, यसमा कुनै समस्या आउँदैन, कांग्रेसको नेतृत्वमा सरकार बन्छ।’  

मुख्यमन्त्रीमा जसपाको पनि दाबी रहने

कांग्रेस र माओवादी विच सत्ता नेतृत्वको बहस सुरु हुँदा समाजवादी पार्टीले भने सत्ता नेतृत्व परिवर्तन हुने भए मुख्यमन्त्रीमा आफ्नो पालो दाबी गरेको छ। अन्यथा नेतृत्वलाई नै निरन्तरता दिनु पर्ने उसको निष्कर्ष छ।

कांग्रेस र माओवादी पछि गठबन्धनको तेस्रो ठूलो दलका हिसाबले पनि लुम्बिनी प्रदेश सरकारमा आफ्नो स्वतः दाबी रहने जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए।

‘सत्ताको नेतृत्व परिवर्तनको प्रयास थालियो र नेतृत्व परिवर्तन हुने अवस्था आए मुख्यमन्त्रीमा हाम्रो दाबी स्वतः रहन्छ,’ यादवले भने ‘मैले यो कुरा अन्य राजनीतिक दलहरूसँगको छलफलमै औपचारिक रूपमै भनिसकेको छु।’ तर जसपा अहिले नै सरकार परिवर्तनको पक्षमा भने नरहेको समेत उनको भनाई छ। बरु केही मन्त्रीहरूलाई परिवर्तन गर्न सकिने उनले बताए। ‘अहिलेको सत्ताको नेतृत्व परिवर्तन गरिनुहुन्न भन्ने धारणा हाम्रो हो,’ यादवले भने, ‘बरु केही मन्त्रीहरू फेरबदल गर्न सकिन्छ नि।’

प्रकाशित: १९ माघ २०७८ ०५:५७ बुधबार

लुम्बिनी प्रदेशमा सरकार कुलप्रसाद केसी एमाले नेतृत्वको सरकार