राजनीति

सरकारले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गर्छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्था अनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन्। नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तह, प्रदेश र संघको निर्वाचन हुने प्रष्टयाएका हुन्। 

बुधबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानमा व्यवस्था भए अनुसार सबै तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारले त्यससँग बाझिएका कानुनहरु संशोधनका लागि कानुनविद्हरुसँग छलफल गरिसकेको पनि स्मरण गराए। मन्त्री कार्कीले संविधानले परिकल्पना गरे अनुसार नै स्थानीय तहलाई अझ बढि प्रभावकारी बनाउने गरी अघि बढन वर्तमान सरकार प्रतिवद्ध रहेको दोहोर्‍याए।  

मन्त्री कार्कीले संसद अवरुद्ध नपार्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पुनः आग्रह गरे। उनले एमालेजस्तो प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टीले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलो संसदलाई अवरुद्ध पार्न नहुने बताए।  

प्रकाशित: १२ माघ २०७८ ०९:५५ बुधबार