राजनीति

आफूले पाएको सरकारी तलब, भत्ता जनताको सेवामा खर्चिँदै प्रदेश सांसद दवाडी

आफूले प्राप्त गरेको तलब, भत्ता जनताको सेवामा खर्चिएको खर्चबारे जानकारी गराउँदै गण्डकी प्रदेश सभा सदस्य (सांसद) प्रकाशचन्द्र दवाडी। तस्बिरः सन्देश/नागरिक

गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) प्रकाशचन्द्र दवाडीले आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका छन्। गोरखा क्षेत्र नम्बर २ (ख)का सांसद उनले शुरुदेखि नै आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका उनले अहिलेपनि त्यसलाई निरन्तरता दिँदै आएका छन्। उनले गत पुसदेखि यस वर्षको पुस मसान्तसम्ममा कुल १३ लाख ६३ हजार ८ सय रुपैयाँ खर्चेका छन्। 

यसबीचमा उनले प्रदेश सांसदको हैसियतमा तलब, भत्ता र त्यसबाट बैंकमा रहँदा प्राप्त भएको ब्याजसमेत ७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ प्राप्त गरेका छन्। त्यसमा ५ लाख ८१ हजार ४ सय ३८ रुपैँया थपेर कुल १३ लाख ६३ हजार ८ सय रुपैयाँ जनताको सेवामा खर्चिएको सांसद दवाडीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिए।

सांसद दवाडीले शिक्षा, खेलकुद, भवन निर्माण, बाटो निर्माण, छात्रवृत्तिमा खर्च गरेका छन्। साथै उनले आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या परेका विरामीको उपचार, औषधी खरिदलगायतमा पनि सहयोग गरेका छन्। न्यूनतम पाँच हजारदेखि अधिकतम पचास हजारसम्म सहयोग गरेका उनले ३१ शिर्षकमा खर्च गरेको पाइएको छ।

प्रदेश सांसद दवाडीले राजनीति सेवा हो, त्यसैले सक्नेले राज्यको सुविधा लिनु हुन्न भन्ने उद्धेश्यबाट प्रेरित भएर जनताको सेवाका लागि आफूले पाएको सरकारी तलब, भत्ता खर्चिएको बताए। ‘आत्म सन्तोषका लागि जनताको सेवा गरेका हुँ, यसले राज्यलाईपनि जिम्मेवार भएर सेवा गर्न प्रेरित गर्ने विश्वास लिएको छु’, उनले भने। राज्यलाई कमजोर बनाउने वा आफू चर्चित हुनका लागि आफूले खर्च नगरेको उनको प्रष्टोक्ती थियो।

फरक प्रसङ्गमा उनले सरकारको कामबाट जनता खुशी नभएको टिप्पणी गरे। सत्तारुढ नेपाली कांग्रेसका सांसद उनले भने,‘सरकारले काम गरिरहेकै छ। तर यो पर्याप्त भएन। जनता सरकारको कामबाट खुशी छैनन्।’ उनले काममा ढिलासुस्ती हुने क्रम अझै नहटेको बताए। विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)का कारणपनि सरकारको काम प्रभावकारी हुन नसकेको हुनसक्ने उनले बताए।

प्रकाशित: ११ माघ २०७८ ०८:३७ मंगलबार