राजनीति

होल्डिङ सेन्टर ४ दिनभित्र तयार पार्न निर्देशन

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरको रानी नाकामा निर्माणाधीन होल्डिङ सेन्टर १ सय वेड ४ दिनभित्र तयार पार्ने निर्देशन दिएका छन्। बिहीबार सीमा नाका र होल्डिङ सेन्टरको अनुगमन गरी मुख्यमन्त्री राईले ४ दिन भित्र १ सय वेड तयार पार्न निर्देशन दिएका हुन्।  

प्रदेश सरकारले कोरोना विरुद्धको खोप अभियानलाई पनि क्रमशः अघि बढाउने मुख्यमन्त्री राईले बताए। उनले शुक्रबार नै सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिए। सीमा नाका बन्द गर्ने अधिकार प्रदेश सरकारलाई नभए पनि नाकाको अनियन्त्रित आवजावतलाई रोक्न सीमामा आवतजावत गर्न  खोपकार्ड अनिवार्य गर्ने बताए।

विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ। गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिनाभित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष्य लिएको छ। नेपाली सेना कालीशक्ती गणका प्रमुख सेनानी प्रशान्त बज्राचार्यका अनुसार होल्डिङ सेन्टर निर्माणको कूल लागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको  छ। बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध भए चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।

भारतीय नाकाहरूमा आवतजावत अनियन्त्रिण देखिएको र सीमामा संक्रमित वा शंकास्पद बिरामीहरू फेला परे पनि निर्माणाधीन होल्डिङ सेन्टर तयार नभइसकेका कारण त्यस्ता व्यक्तिहरूलाई राख्नसमेत समस्या भइरहेको छ।

भारतबाट नेपाल आएका शंकास्पद व्यक्तिहरूलाईसमेत घरमै पठाइरहेको रानी हेल्थडेक्सका यन्चार्ज सुरेन्द्र यादवले जानकारी दिए। जोगवनी हेल्प डेस्ककाअनुसार पौष महिनामा दुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। यो दर दैनिक रूपमा बढ्दै गएको रानी यादवले बताए।

प्रकाशित: २९ पुस २०७८ १४:५५ बिहीबार

खोपकार्ड अनिवार्य