राजनीति

माघ ३ गते प्रदेश २ को नाम र राजधानी टुङ्गो लाग्ने

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन्।  

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताए।

‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ’, मन्त्री साहले भने, ‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ।’

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने उनको भनाइ थियो।

प्रकाशित: २८ पुस २०७८ १०:४४ बुधबार

प्रदेश २