राजनीति

नेपाली भूमिमा भारतले सडक बनाएकाप्रति आपत्ति

नेकपा एमालेले नेपाली भूभाग कालापानीमा भारत सरकारले बनाएको सडकसहितको संरचनामा आपत्ति जनाएको छ।

एमालेले सडकसहितको संरचना निर्माण कार्यले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमा आँच पुर्‍याउने गतिविधि तत्काल बन्द गर्न माग पनि गरेको छ। भारत सरकारले नेपाली भूभागमा पर्नेगरी सडक बनाउँदा पनि सरकार मौन रहेको भन्दै सो दलले आपत्ति जनाएको छ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको उल्लेख गरेका छन्। ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ।

हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

एमालेले वार्ताको माध्यमबाट समस्या समाधान नखोजिँदासम्म कुनै पनि संरचना बनाउन नहुने धारणासमेत राखेको छ। ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा एमालेको अविचलित मान्यता छ’, विज्ञप्तिमा भनिएको छ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीच थाती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुंग्याउने भनी गरिएको सहमतिविपरीत भारतीय पक्षले उक्त नेपाली भूभागमा सडकसहितको संरचना निर्माणलाई तीव्रता दिइरहेकाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

प्रदेश अधिवेशन सर्‍यो

मुलुकभर कोरोना संक्रमण बढ्दै गएपछि नेकपा एमालेले माघ ८ का लागि तोकेको प्रदेश अधिवेशन सारेको छ। कोभिड संक्रमणलाई ध्यानमा राखेर प्रदेश अधिवेशनको मिति पर सारेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार माघ २८ र २९ गतेका लागि मिति तय गरिएको छ। तर प्रदेश सम्पर्क कमिटीको अधिवेशन भने यथावत् राखिएको छ। सानो संख्यामा प्रतिनिधिहरु मात्रै भेला भएर अधिवेशन गर्ने भएकाले त्यसलाई यथावत् राखिएको प्रदेश सम्पर्क कमिटीका नेताहरुले बताएका छन् । सरकारले संक्रमण बढेको भन्दै २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेको छ।

प्रकाशित: २८ पुस २०७८ ०५:५८ बुधबार

नेकपा एमाले एमाले विदेश विभाग प्रमुख राजन भट्टराई