राजनीति

प्राधिकरणको महानिर्देशक बन्न रस्साकस्सी

मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि दाबेदार पदाधिकारीले दौडधुप गरिरहेका छन्।

हालका महानिर्देशक राजकुमार क्षेत्रीको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहीन छ। तीन महिनाअघि प्राधिकरणको महानिर्देशक बनेका उनले सेवाबाट अवकाश लिएपनि महानिर्देशक पद लम्याउन लागिपरेका छन्। आफूलाई चार वर्षका लागि सरकारले नियुक्त गरेकाले पूरै कार्यकाल पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।  

अदालतले अल्पकालीन आदेश दिएर आगामी पुस ३० गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ। क्षेत्रीले प्राधिकरण ऐन बमोजिम महानिर्देशक पद चार वर्ष हुने प्रावधान रहेकाले पूरा कार्यकालको लागि आफूले दाबी गरेको बताए।

उनी प्राधिकरणका ३२ वर्ष सेवा गरेर गत पुस २४ गते शनिबार मात्रै उमेरहदका कारण अवकाश भएका थिए। सेवाबाट अवकाश लिएपछि पनि महानिर्देशक पद जोगाउन क्षेत्रीले सर्वोच्चदेखि शक्ति केन्द्रसम्म दौडधुप गरेको विभिन्न सञ्चार माध्यममा आइरहेको छ। तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले प्राधिकरणकै १२औँ तहका कर्मचारी प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ। प्राधिकरणमा अन्य सिनियर अधिकृत हुँदा जुनियरलाई जिम्मेवारी दिएको पनि बजारमा चर्चा छ।

महानिर्देशकका अर्का दाबेदार प्राधिकरणकै १२औँ तहका उपमहानिर्देशक प्रतावबाबु तिवारी महानिर्देशक पद प्राप्त गर्न हरसम्भव प्रयास गरिरहेका छन्। यसका लागि उनले अभियान नै चलाएका छन्। स्वभावलै निवर्तमान महानिर्देशक क्षेत्रीपछि तिवारीको दाबेदारी देखिन्छ। तिवारी महानिर्देशक बनेमा पूरै कार्यकाल नेतृत्वमा रहने जनाइएको छ। एयर ट्राफिक अफिसरका रुपमा सेवा प्रवेश गरेका उनले प्राधिकरणमा २५ वर्ष सेवा गरेका छन्। उनले यसअधि त्रिअविको महाप्रबन्धक तथा प्राधिकरणको प्रवक्ताको जिम्मेवारीमा रहेर पनि काम गरेका छन्। उनले हवाई सुरक्षा सुदृढ गर्ने र प्राधिकरण सुधार्ने योजना पनि अघि सारेका छन्।

महानिर्देशकका लागि प्राधिकरणकै अर्का प्रत्यासी हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँको पनि आगामी फागुन १६ गते उमेर हदका कारण अनिवार्य अवकाश हुँदैछ। उनले पनि आफू प्राधिकरणको सिनियर कर्मचारी भएकाले स्वभाबैले महानिर्देशक पद दाबी गरिएको बताए।

‘प्राधिकरणको १२औँ तहको सिनियर कर्मचारी हुँ, अबको डेढमहिनापछि अवकास पाउने भएकाले उक्त अवधिसम्म भए पनि स्वभाविक रुपमा नेतृत्वको पाउनुपर्छ भन्ने हो दाबी हैन’, उनले भने।

त्यस्तै महानिर्देशक पदका लागि अघिल्लो पटकदेखि नै लबिङ गरिरहेका प्राधिकरणका आयोजना प्रमुखको जिम्मेवारीमा रहेका प्रदीप अधिकारी पनि पदका लागि आफू उपयुक्त रहेको बताए। उनी पनि ‘लबिङ’ गर्दै शक्ति केन्द्रदेखि विभिन्न तहसम्म माहोल आफ्नो पक्षमा बनाउन लागिरहेका छन्।

महानिर्देशक पदमा तपाई किन भनि सोधिएको जिज्ञासामा अधिकारीले भले, ‘प्राधिकरणमा स्थिर नेतृत्वका लागि मैले नेतृत्व खोजेको हुँ खाली तीन महिना र दुई महिना महानिर्देशक हुने पदाधिकारीले कसरी प्राधिकरणको हितमा काम गर्नसक्छन्।’ सिभिल इञ्जिनीयरको रुपमा सातौँ तहबाट सेवा प्रवेश गरेका अधिकारीले आठौँ र खुला प्रतिस्पर्धाबाट ११औँ तहमा एकैपटक नाम निकालेका थिए।

उनको पालामा निर्माणाधीन, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति भएको थियो। दुबै राष्ट्रिय गौरबका आयोजना हुन्।

भैरहवा र पोखरासँगै निजगढ अन्तरराष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर आधार तयार गर्न पनि आफ्नो भूमिका रहेको अधिकारीको दाबी छ। पर्यटन मन्त्रालयले प्राधिकरणको महानिर्देशक कस्लाई बनाउने भन्नेबारे अहिलेसम्म मुख खोलेको छैन। पर्यटन मन्त्रालयका प्रवक्ता टोपराज पाण्डेले प्राधिकरणको महानिर्देशकका विषयमा कुनै टुङ्गो लागिनसकेको प्रतिक्रिया दिए। रासस

प्रकाशित: २७ पुस २०७८ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App