राजनीति

एमालेको ताप्लेजुङको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सुरु

नेकपा एमाले ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ। मतदाताको अन्तिम नामावली प्रकाशन भएपछि केहीबेर अघिबाट मात्र उम्मेदवारको मनोनयन प्रकृया सुरु भएको हो।

प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवराज मेन्याङ्वोले साँझ ६ बजे भित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेका थिए। संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेबे दुबैबाट प्यानलगत रुपमै उम्मेदवारी भइरहेको छ।

साम्सोहाङ र थेबेको उम्मेदवारी मनोनयन पत्रको प्रमाणीकरण इञ्चार्ज तिलकुमार मेन्याङ्वोले र अन्य पदाधिकारी तथा सदस्यको उम्मेदवारी दर्ताको प्रमाणीकरण साम्सोहाङ र थेबेले संयुक्त गरेर निवाचन समिति समक्ष पुग्ने व्यवस्था मिलाइएको छ। साम्सोहाङ पक्षबाट उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, सचिवमा केशरकुमार सुब्बा, उपसचिवद्धयमा मणिशंकर पोमू र सन्तोष चोङ्वाङले उम्मेदारी दिने गरी यो समूहले सूची तयार गरेको छ।

सहसंयोजक थेबे समूहबाट उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा मंगलसिंह केदेम र उपसचिवमा दीपेन्द्र पोमू(दीपेन) र लिलाचक्र गुरुङले उम्मेदवार दिने गरी यो समूहले आफ्नो पक्षका उम्मेदवारको टुङ्गो लगाएको हो।

प्रकाशित: २५ पुस २०७८ १२:२८ आइतबार