राजनीति

एमाले जिल्ला अधिवेशन: कतै सहमति, कतै निर्वाचन

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेकपा एमालेको जिल्ला अधिवेशन उद्घाटन गरेसँगै जिल्ला जिल्लामा एमाले नेतृत्व चयनको माहोल तातेको छ। कुनै जिल्लामा सर्वसम्मतको प्रयास जारी छ भने कुनै जिल्लामा निर्वाचनमा जाने पनि देखिएको छ। एमालेमा ८ वर्षपछि जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न लागिएको हो।

हाम्रा भक्तपुरस्थित संवाददाताका अनुसार एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा पुनः निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ चुनिएका छन्। पछिल्लो संविधानसभा निर्वाचतमा माओवादीका तर्फबाट भक्तपुर क्षेत्र नं. १ बाट पराजित उम्मेदवार मिल सुवाल जिल्ला उपसचिव चुनिएका छन्।

यसैगरी दाङस्थित हाम्रा संवाददाता देवेन्द्र बस्नेतका अनुसार लुम्बिनी प्रदेशका तीन जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। दाङ, बर्दिया र पाल्पामा जिल्ला नेतृत्व सर्वसम्मत चुनिएका हुन्। दाङमा हुकुमबहादुर बस्नेतको नेतृत्वमा जिल्ला कमिटी सर्वसम्मत चयन भयो। यसैगरी, पाल्पामा धनेन्द्रराज अधिकारी तथा बर्दियामा लालबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।  

एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार दुई जिल्लामा भने नेतृत्वका लागि चुनाव भएको छ। नवलपरासीमा मतदान भैसकेको छ भने शनिबार साँझसम्म मतगणना शुरुसमेत भइसकेको छ। यस जिल्लामा दुई समूह बनाएर चुनावी प्रतिस्पर्धा भएको छ। दीपेन्द्रराज अधिकारी र ठगप्रसाद गैरे नेतृत्वका दुई समूहबीच प्रतिस्पर्धा भएको हो।

यसैगरी कपिलवस्तुमा पनि निर्वाचन हुने पक्का भएको छ। शनिबार साँझ उम्मेदवारी दर्ताको प्रक्रिया चलेको छ। यसैगरी, गुल्मी, अर्घाखाँची, रूपन्देही र प्युठानमा भने सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहेको र त्यसकै लागि छलफल भइरहेको एमाले प्रदेश अध्यक्ष कँडेलले जानकारी दिए।

यसैगरी, रुकुम पूर्वमा माघ २२ र २३ गते जिल्ला अधिवेशन हुनेछ भने रोल्पामा पनि सचिवको केही दिनअघि निधन भएका कारण अधिवेशन स्थगित भएको छ। प्रदेश अध्यक्ष कँडेलका अनुसार रोल्पामा अधिवेशन कहिले हुने भन्ने मिति भने तय भइसकेको छैन। सुर्खेतस्थित हाम्रा संवाददात नगेन्द्र उपाध्यायका अनुसार कर्णालीका १० जिल्लामध्ये शनिबार बेलुकासम्म दुई जिल्लामा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र सल्यानमा सर्वसम्मत नेतृत्व चयन भएको जनाए।

शाहका अनुसार एमाले डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन्। यस्तै सल्यानको अध्यक्षमा गोविन्दकुमार पुन चयन भएका छन्। ‘दुवै जिल्लामा अध्यक्षदेखि सबै पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्,’ उनले भने, ‘सबै पदाधिकारी र सदस्यहरूको विवरण भने आइसकेको छैन्।’ अध्यक्ष शाहका अनुसार बाँकी रहेका आठ वटै जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गइरहेको छ। ‘सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयन्त गरिरहेका छौं,’ उनले भने, ‘सहमति नभए पार्टीको आन्तरिक चुनाव हो, निर्वाचन प्रक्रियामा पनि जानसक्छ।’

प्रदेश राजधानीसमेत रहेको सुर्खेत जिल्लामा एमालेको बन्दसत्र सकिएको छैन। ‘राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदनमाथि छलफल सकिएको छ,’ एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले भने, ‘अब नेतृत्व चयनको प्रक्रियामा अघि बढेका छौं।’ उनले सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताए। एमाले सुर्खेतमा आकांक्षी भने धेरै छन्। वर्तमान अध्यक्ष ध्रुवकुमार शाहीसँगै पार्टी उपाध्यक्ष अमृत विसी, डण्डीप्रसाद शर्मा र कुलमणि देवकोटा अध्यक्षका आकांक्षी छन्।

यस्तै दैलेखमा पनि अध्यक्षका आकांक्षी धेरै छन्। वर्तमान अध्यक्ष रवीन्द्रराज शर्मासँगै सूर्यबहादुर शाही, प्रेम थापालगायत अध्यक्षका आकांक्षी छन्। कालिकोटमा शनिबार मात्रै जिल्ला अधिवेशन उद्घाटन भएको छ। ‘अधिकांश जिल्लाको आइतबारसम्म नेतृत्व चयन भइसक्छ,’ प्रदेश अध्यक्ष शाहले भने, ‘दुई–तीनवटा जिल्लामा भने केही समय लाग्ने वा निर्वाचन हुने अवस्था आउन सक्छ।’

सुनसरीको धरानस्थित हाम्रा संवाददाता रोहित राईका अनुसार जिल्ला सदरमुकाम इनरुवामा पुस २३ र २४ गते गर्ने भनिएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका निर्वाचन कार्यतालिकासमेत संशोधन गरिएको छ। एमाले प्रचारप्रसार उपसमिति संयोजक रवी खनालका अनुसार आइतबार मनोनयन दर्ता हुने, सहमतिको लागि एक दिन समय दिइने र २७ गते निर्वाचन हुने सम्भावना छ।  

रसुनसरीमा अधिवेशन आयोजक कमिटीका अध्यक्ष खेमराज पोखरेल र पूर्वअध्यक्ष रेवतीरमण भण्डारी अध्यक्षको प्रमुख दाबेदार छन्। दुवै नेता संस्थापन पक्षकै भएकोले सर्वसम्मत चयन गर्न नेताहरू निरन्तर छलफलमा छन्। सुनसरीमा दुई कमिटीको समानान्तर गतिविधि जारी रहेको र एकले अर्कालाई स्वीकार नगर्ने भएपछि खेमराज पोखरेललाई अधिवेशन आयोजक कमिटीको अध्यक्ष बनाइएको थियो। अध्यक्षको आकांक्षीमा इटहरीका मेयर द्धारिकलाल चौधरी र प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाईको पनि चर्चा छ।

यसैगरी, विराटनगरस्थित हाम्रा संवाददाता विनोद सुवेदीका अनुसार मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल पुनः निर्वाचित भएका छन्। शनिबार भएको मनोनयनमा अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रूपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बु र सन्तोष साहको मात्रै उम्मेदवारी परेपछि स्वतः निर्विरोध निर्वाचित भएका हुन्।  

रयसैगरी १ सय ६५ जनाको जिल्ला समितिमा ४ सयको हाराहारीमा उम्मेद्वारी परेको छ। उम्मेदवारी फिर्ताको समय आइतबार दिउँसो ३ बजेसम्म राखिएको छ। पदाधिकारी निर्विरोध भइसकेको र सदस्यहरू पनि सर्वसम्मत नै निर्वाचित हुने नवनिर्वाचित सचिव रूपेश खतिवडाले बताए।  

धनगढीस्थित हाम्रा संवाददाता दिलबहादुर छत्यालका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन सुरु भएको छ। सबै जिल्लामा सहमतिको प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दामोदर भण्डारीले बताए।

सुदूरपश्चिमको सबैभन्दा बढी सदस्य र निर्वाचन क्षेत्र भएको कैलालीमा जिल्ला अध्यक्षका लागी केपी ओली पक्षकै दुई जनाका उम्मेदवारी दर्ता भएको छ। एमालेका निर्वतमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सहमतिको प्रयास सफल नभएपछि थापा र चन्दले उम्मेदवारी दर्ता गराएका हुन्। आइतबार बिहान ८.३० देखि १ .३० सम्म तोकिएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सिनाले बताएका छन्।

दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो। यहाँका ८ जिल्लामा सकभर सहमतिबाट नयाँ नेतृत्व चयन गर्ने प्रयास भैरहेको र कैलाली, डडेल्धुरा लगायत केही जिल्लामा निर्वाचन प्रक्रिया सुरु भएको एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले बताए। बझाङमा भने केही समयपछि अधिवेशन हुने उनको भनाइ छ।  

कञ्चनपुरमा वर्तमान अध्यक्ष वीरबहादुर थापा र सचिव सुरेन्द्र विष्ट अध्यक्षमा लागि आकांक्षी देखिएका छन्। थापा तत्कालीन नेकपा हुँदा समेत कञ्चनपुरका अध्यक्ष थिए भने बिष्ट भीमदत्त नगरपालिकाका मेयर हुन्। डडेल्धुरामा अध्यक्षमा सहमति भएपछि प्रकाश साउद र विपीन ओझाको उम्मवारी दर्ता भएको छ। बैतडीमा पनि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी छन्। दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन्। बाजुरामा कालीबहादुर शाही, भरत थापा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन्। शाही वर्तमान अध्यक्ष हुन्।

यसैगरी, इलामस्थित हाम्रा संवाददाता भीम चापागाईंका अनुसार अध्यक्ष पदका लागि महेश बस्नेत र नेता डा. देवी क्षेत्री दुलालको उम्मेदवारी परेको छ। बस्नेत इलाम नगरपालिकाका मेयरसँगै हालका अध्यक्षसमेत हुन्। डा. दुलाल भने पत्रकार हुन्। उनले पत्रकारितामै विद्यावारिधि गरेका छन्।  

उपाध्यक्षमा उदय राई र याम अधिकारी, सचिवमा उमेश गुरुङ र प्रकाश अधिकारीको उम्मेदवारी परेको छ। सहमति नभए आइतबार निर्वाचन हुने निर्वाचन समिति संयोजक केशवकुमार धौरालीले जानकारी दिए। अधिवेशनमा ८ सय ६ प्रतिनिधि सहभागी छन्। सदरमुकामको सिटी हलमा शुक्रबार अधिवेशनको उद्घाटन भएको थियो। बन्दसत्र त्यहीँ भइरहेको छ।

प्रकाशित: २५ पुस २०७८ ०१:४६ आइतबार