राजनीति

एमसिसी पास गर्न अवरुद्ध संसद् खुलाउने कसरत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक खुलाउन सरकारले सक्रियता देखाउन थालेको छ। संसद् अधिवेशन नवौं अधिवेशनदेखि अवरुद्ध छ। गत भदौ २३ मा बसेको नवौं अधिवेशन गत कात्तिक १२ गते अन्त्य भएको थियो।

सो समयभरी एमाले अवरुद्ध गरिरहेको थिए। दशौं अधिवेशन अर्थात् हिउँदे अधिवेशन मंसिर २८ बाट सुरु भएको छ। तर पुस महिना वितिसक्दा पनि दुई वटा मात्र बैठक बसेको छ।

सरकारले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) एमालेको संसद् अवरोधबीच पारित गर्ने तयारीमा छैन। एमसिसीमा एमालेलाई पनि सहभागी गराउने योजना सरकारको छ। जसका लागि पनि संसद् खुलाउन प्रयास भइरहेको स्रोतले बतायो। नवौं अधिवेशनमा बजेट पारित भएपछि एमसिसी पारित गर्ने तयारी भएकाले सरकारले सर्वदलीय बैठक बोलाएको थियो।

भने गत भदौ २७ मा सभामुखलाई पनि सर्वदलीय बैठक बोलाउन लगाइएको थियो। एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै आएको छ। त्यसै कारण उसले सदन निरन्तर अवरुद्ध गर्दै आएको छ।

संसद् अवरोध खुलाउनका लागि नवौं अधिवेशनमा सरकारबाट एक पटक असोज १४ गते र चालु हिउँदे अधिवेशनमा पुस ४ गते गरी दुई पटक बोलाइएको छ। सभामुखबाट गत भदौ २७ मा सर्वदलीय बैठक बोलाइएको थियो। सरकारले बोलाएका दुवै सर्वदलीय बैठकमा र सभामुखले बोलाएको एक पटकको सर्वदलीय बैठकमा एमालेले बहिष्कार गरेको छ।

सरकारले फेरि एमालेलाई मनाएर सदन खुलाउन कसरत गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा गठबन्धन सम्बद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसद्लाई सुचारु गराउनका लागि पहल गर्ने निर्णय गरेको थियो।

संसद् अवरुद्ध हुनु कुनै पनि हिसाबले राम्रो नभएको र सुचारु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले नै व्यक्तिगत रूपमा भेटेर भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउनु पर्ने निर्णय गरेको थियो।

संसद् खुलाउने विषयलाई नै लिएर प्रधानमन्त्री देउवाले दुई दिनअघि बुधबार उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक तथा कांग्रेस नेता पौडेललाई एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पठाएका थिए। एमालेले एमसिसी पारित गर्ने प्रक्रियाबाट पन्छिन पनि नाराबाजी गरेको स्रोतले बताएको छ। चालु अधिवेशनमा एमसिसी जसरी पनि पारित गर्ने योजनामा सरकार देखिएको छ।

पुस १८ र २२ मा बोलाइएको बैठक माओवादी केन्द्रको महाधिवेशन र एमालेको जिल्ला अधिवेशनलाई कारण देखाएर स्थगित गरिएको भए पनि एमाले एमसिसी पास गर्दा हुन्छ/हुन्न भन्ने प्रक्रियामा भाग नलिने बेलासम्म संसद् यसैगरि अघि बढ्ने सम्भावना देखिएको स्रोतले बतायो। संसद् बैठक पुस २८ गतेसम्म स्थगित भएको छ। राष्ट्रियसभाको पुस २५ गते बोलाइएको बैठक पनि २७ गतेसम्म स्थगित भएको छ।

प्रकाशित: २४ पुस २०७८ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App