राजनीति

सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको संक्रमण रोक्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको संक्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन्। उनले बुस्टर डोज र भारतसँगका खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए।

भारतका पन्जाब, गुजरात, उत्तरप्रदेश, बिहारलगायतका राज्यमा संक्रमणको तेस्रो लहर फैलिसकेको छ। यस्तो अवस्थामा नेपालमा तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संक्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए। उनले सीमामा तेस्रो लहरको संक्रमणको चुनौती रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिए।

प्रधानमन्त्री देउवाले भारतसँग सीमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्न निर्देशन दिए। ‘भारत सीमाबाट आएका सबै व्यक्तिलाई परीक्षण गर्नुपर्छ’, उनले भने, ‘परीक्षण गर्दा संक्रमण भेटिए आइसोलेसन र होल्डिङ सेन्टरमा राखेर उपचार गर्नुपर्छ।’ उनले तेस्रो लहरको ओमिक्रोन भेरिएन्ट छिटो फैलिने भएकाले खतरा रहेको र समयमै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काममा लाग्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापन गर्न निर्देशन दिए। उनले तेस्रो लहरको सम्भावित जोखिम हुन नदिन अस्पतालमा अक्सिजन र बेड व्यवस्थापन गर्नुपर्ने बताए।

नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएको भन्दै प्रधानमन्त्री देउवाले सबैको सहयोगले सम्भावित तेस्रो लहरलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे। ‘अक्सिजन नै नपाएर मानिस मर्नु हुन्न’, उनले भने, ‘त्यसैले सबै मिलेर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्छ।’

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकामा चाँडै नै होल्डिङ सेन्टर निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताए। उनले संक्रमितको पहिचान गरी आइसोलेसनमा राख्नुपर्ने बताए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतको अनुभवलाई लिएर उच्च सतर्कता नअपनाए ठूलो संकट बेहोर्नुपर्ने भन्दै चाँडै नै सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको उच्च तयारीमा लाग्नुपर्ने भनाइ राखे। उनले खोप अभियानलाई तीव्रता दिनुपर्ने भन्दै खोप समयमा नै दिन नसके अकल्पनीय दुर्घटना बेहोर्नुपर्नेतर्फ सचेत रहनुपर्ने बताए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरिएन्टको रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको बताए। उनले ओमिक्रोन भेरिएन्टबाट ठूलै डर सिर्जना हुने नठानेर पहिलेको अनुभवबाट नै नियन्त्रण गर्न सकिने धारणा राखे। उनले अहिले तेस्रो लहरको हल्लासँगै खोप लगाउनेको संख्या पनि बढेको भन्दै खोप लगाउन अभियान नै सञ्चालन गर्ने बताए।

प्रकाशित: २४ पुस २०७८ ००:२२ शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवा कोरोना भाइरसको सम्भावित तेस्रो लहर संक्रमण रोक्न निर्देशन