राजनीति

खाडी गएका नागरिक फर्काएर स्वदेशमै रोजगारी मिलाउँछाैं: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले अब नयाँ उर्जाका साथ काम गर्ने बताएका छन्। गुट र समूहको अन्त्य गरी पार्टीलाई नयाँ उर्जाका साथ अगाडि बढाउन आफू कम्मर कसेर लाग्ने उनले बताए। उनले पार्टी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै बिधान सम्मत ढंगले पार्टीलाई चलाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आयोजना गरेको वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई अर्घाखाँचीको दुर्गाफाँटमा सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसले रोजगारीका माध्यबाट गरिबीमा रहेको वर्गलाई कसरी उकास्ने तथा बेराजगारीलाई कसरी कम गर्ने भन्ने दिशामा अगाडी बढ्ने बताए। ‘कांग्रेस पार्टी अब अलमलिने होईन। खाडीमा गएका युवाहरुलाई रोजगारी सृजना गर्नेमा लाग्ने हो, उनले भने,‘कांग्रेसको अबको रणनीति, ध्येय त्यही हुनेछ।’

महामन्त्रीमा निवार्चित भएपछि उपत्यका बाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले स्थानीयतहको निर्वाचन बैशाखमा हुने तथा प्रदेश र संघको निर्वाचन मंसीरमै हुने भएकाले निर्वाचनको तयारीमा लाग्न कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसालले एमालेको आचरणका कारण देशले ठुलो मुल्य चुकाउनु परेको बताईन्। जनताको बलीदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेसले जस्तोसुकै परिस्थितीको सामना गर्ने भन्दै नेतृ भुसालले केपी ओलीका कारण देश दुर्घटनामा फस्ने खतरा बढेको बताईन्।

आमसभालाई कांग्रेस केन्द्रिय सदस्य संजय गौतम, प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डे लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: १९ पुस २०७८ १३:२९ सोमबार