राजनीति

भूगोल सुहाउँदो नीति आवश्यक छ: मुख्यमन्त्री शाही

प्रजातान्त्रिक वन प्राविधिक संघ कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाही। तस्बिर: नगेन्द्र/नागरिक

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको भूगोल सुहाउँदो नीति तथा कार्यक्रम आवश्यक रहेको बताएका छन्। उनले संघीय कार्यक्रम अनुसार अघि बढ्दा कर्णालीमा विकास र समृद्धि हासिल गर्न समय लाग्ने बताए। 

प्रजातान्त्रिक वन प्राविधिक संघको कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले हिमाली र उच्च पहाडी क्षेत्रको विकास र समृद्धिका लागि त्यहाँको भूगोल सुहाउँदो कार्यक्रम ल्याइने बताए।  

‘राष्ट्रिय कार्यक्रम अनुसार नेपालभर असार–साउनमा बृक्षारोपणको अभियान सुरु हुन्छ, त्यो समयमा कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गरिएको वृक्षारोपणको कुनै अर्थ हुँदैन्,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले भुगोलका आधारमा नीति र कार्यक्रम बनाएर कार्यान्वयन गर्नु आवश्यक छ।’  

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले ‘६ब’लाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यसलाई सहयोग पुग्ने कार्यक्रम ल्याउन वन कर्मचारी र प्राविधिकहरुलाई आग्रह गरे। ‘६ब वनदेखि बाटोसम्म समेटिएको छ, कर्णाली वन र जैविक विधिकताको खानी हो,’ उनले भने, ‘बहुमूल्य जडिबुटीदेखि उच्च मूल्यका कृषि बस्तुको कर्णाली उर्वर भूमि हो, त्यसैले वनलाई प्राथमिकतामा राखेर हामीले काम गरिरहेका छौं।’  

मुख्यमन्त्री शाहीले वन क्षेत्रको संरक्षण, प्रवद्र्धन गर्दै यसको उपयोग गरेर कर्णालीलाई समृद्धिको मार्गमा डो¥याउन सकिने बताए। ‘यसले कर्णालीका नागरिकहरुको जीवनस्तर उकास्न वनले मद्दत गर्छ,’ उनले भने, ‘वनभित्र पर्यटन पनि पर्छ, कर्णालीका स्याउ, ओखर, चिनो, फापरलगायतलाई औषधिजन्य मूल्य भएको उत्पादनका रुपमा बजारीकरण गर्न सकेको खण्डमा कर्णालीलाई समृद्ध बनाउन सकिन्छ।’

मुख्यमन्त्री शाहीले भूगोल सुहाउँदो कार्यक्रम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले कर्णालीको प्रमुख आन्दानीको स्रोतका रुपमा वन क्षेत्र रहेको बताए। ‘भूगोलका हिसावले सबैभन्दा ठूलो कर्णाली प्राकृतिक स्रोतको भण्डारण हो,’ उनले भने, ‘आवश्यक नीति बनाएर वन स्रोतको उपभोग गर्न आवश्यक छ।’ मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख गोविन्द दहालले बैज्ञानिक वन व्यवस्थापनलाई अघि बढाइनुपर्ने बताए। कार्यक्रममा प्रदेश वन निर्देशक शिवराम अधिकारी, नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय सदस्य गणेशबहादुुर थापालगायतले बोलेका थिए।  

अध्यक्षमा सावद

प्रजातान्त्रिक वन प्राविधिक संघको कर्णाली प्रदेश अध्यक्षमा हिमालय सावद निर्वाचित भएका छन्। सोमबार सम्पन्न प्रथम कर्णाली अधिवेशनले सावदको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा प्रिन्स जैसवाल, महिला उपाध्यक्षमा होमकुमारी न्यौपाने, खुला उपाध्यक्षमा सुशान्त न्यौपाने र यामराज कार्की, पिछडिएको क्षेत्रतर्फको उपाध्यक्षमा नितेशजंग शाही र समावेशी उपाध्यक्षमा पूर्णबहादुर थापा चयन भएका छन्। यस्तै सचिवमा जयपृथ्वीराज बुढाथोकी, सहसचिवमा सुदर्शन पाण्डे र कोषाध्यक्षमा प्रनिल देवकोटा चयन भएका छन्।

प्रकाशित: १३ पुस २०७८ ०८:३९ मंगलबार